News रामधुनी बन्यो सुनसरी जिल्लास्तरीय सी डिभिजन च्याम्पियन
गोलनेपाल

दुहबी । संघर्षपुर्ण जितका साथ रामधुनी युवा क्लब, रामधुनी शुक्रबार सम्पन्न सुनसरी जिल्लास्तरीय सी डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । फाइनलमा रामधुनीले शान्तिनगर फुटबल क्लब, इटहरीलाई सडन डथेमा ५–४ ले हराउँदै च्याम्पियन बनेको हो ।

श्री सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टीमा रामधुनीले नतिजा आफ्नो पक्षमा पार्यो ।

निर्धारित समयतर्फ खेलको पाँचौं मिनटमै महेश राउतको गोलबाट रामधुनीले खेलमा अग्रता बनाएको थियो । तर ४२औं मिनटमा बिशु श्रेष्ठले शान्तिनगरका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । निर्धारित समयमा थप हुन गोल हुन नसक्दा खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा पनि नतिजा ननिस्किएपछि सडन डेथमा रामधुनी विजयी बन्न सफल भएको हो ।

विजेता बनेको रामधुनीले उपाधिसहित नगद १५ हजार हात पार्यो भने सुनसरी जिल्लास्तरीय बी डिभिजनमा बढुवा समेत भएको छ । त्यस्तै उपविजेता शान्तिनगरले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच शान्तिनगरका बिशु श्रेष्ठ घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे । उत्कृष्ट गोलरक्षक रामधुनीका विकास थापा चुनिए । उत्कृष्ट डिफेन्डर पनि रामधुनी कै मणी मगर घोषित भए ।

उत्कृष्ट मिडफिल्डर शान्तिनगरका रोदन राई बन्दा उत्कृष्ट प्रशिक्षक रामधुनीका लेखनाथ खतिवडा चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी रामधुनीका निवास फुयाल घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नविन राई लगायतले पुरस्कृत गरेका थिए ।

सुनसरी जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments