News एएफसी यु–२० एसियन कपः भियतनामको सनसनीपूर्ण लय जारी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आफ्नो पहिलो खेलमै बलियो अष्ट्रेलियालाई हराएर सनसनी मच्याएको भियतनाले जारी एएफसी यु–२० एसियन कपतर्फ समूह चरणको आफ्नो दोस्रो खेलमा पनि जित दर्ता गरेको छ ।

समूह बी मा रहेको भियतनामले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा कतारलाई २–१ ले हरायो । यो जितपछि २ खेलबाट ६ अंक जोडेको भियतनामले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

समूह बी कै अर्को खेलमा अष्ट्रेलियाले इरानमाथि ३–२ को जित निकाल्यो र नकआउट चरणमा प्रवेश गर्ने आफ्नो सम्भावना कायम राख्यो ।

समूह बी मा समान ३–३ अंक जोडेका अष्ट्रेलिया र इरान क्रमशः दोस्रो स्थानमा छन् । त्यस्तै अंकविहीन कतार पुछारमा छ र समूह चरणबाटै लगभग बाहिरिसकेको छ ।

समूह चरणको अन्तिम खेलमा भियतनामले इरानको सामना गर्दा कतारले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

आयोजक उज्वेकिस्तानको पनि लगातार दोस्रो जित

त्यस्तै प्रतियोगितामा आयोजक उज्वेकिस्तानले पनि लगातार दोस्रो जित हात पारेको छ । समूह ए तर्फ पहिलो खेलमा सिरियालाई २–० ले हराएको उज्वेकिस्तानले दोस्रो खेलमा इराकलाई १–० ले पराजित गर्यो । सोही समूहको अर्को खेलमा इण्डोनेसियाले सिरियामाथि समापन १–० को जित निकाल्दै नकआउट चरण प्रवेशको सम्भावनालाई कायम राख्यो ।

समूह ए मा ६ अंक जोडेको उज्वेकिस्तान शिर्ष स्थानमा छ । ३–३ अंक जोडेका इराक र इण्डोनेसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन सिरिया भने पुछारमा छ ।

समूह चरणको अन्तिम खेलमा इण्डोनेसियाले उज्वेकिस्तानको सामना गर्नेछ भने अर्को खेलमा सिरिया र इराक प्रतिस्पधाृ गर्नेछन् ।

 

Post Comments