News जावलाखेलको लगातार दोस्रो जित, आर्मी पनि सफल
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आफ्नो पहिलो खेलमा मच्छिन्द्र क्लबलाई स्तब्ध बनाएको जावलाखेल युथ क्लबले बिहीबार लगातार दोस्रो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले न्युरोडटिम (एनआरटी) लाई २–१ ले हराउँदै लगातार दोस्रो जित दर्ता गरेको हो । खेलमा दुवै पक्षबाट भएका गोलहरु दोस्रो हाफमा सम्भव भए ।

खेलको ६८औं मिनटमा सिमान्त थापाको गोलबाट जावलाखेलले खेलमा अग्रता लिएको थियो । ७७औं मिनटमा फोडे फोफनाले गरेको दोस्रो गोल खेलको निर्णायक गोल पनि बन्यो । उता पराजित एनआरटीका लागि ८०औं मिनटमा सन्जिव विष्टले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

बिहीबारको नतिजापछि २ खेलबाट ६ अंक जोडेको जावलाखेल दोस्रो स्थानमा छ । उता पराजित एनआरटी अंकविहीन रुपमा १२औं स्थानमा छ ।

आर्मीसँग मच्छिन्द्र स्तब्ध

लिगमा राम्रो लय समाउन नसकेको साविक विजेता मँिच्छन्द्र फुटबल क्लबले लगातार दोस्रो हार बेहोरेको छ । च्यासल स्टेडियममा भएको खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबको हातबाट २–० को हार बेहोर्यो । आर्मीका लागि दिपक गुरुङ र नवयुग श्रेष्ठले गोल गरे । नवयुगले पेनाल्टीबाट आर्मीका लागि गोल गरेका थिए ।

यो नतिजापछि २ खेलबाट ४ अंक जोडेको आर्मी चौथो स्थानमा छ भने पराजित मच्छिन्द्र पुछारमा छ ।

 

Post Comments