News फारवेष्ट पशुपति कपः सुदुरपश्चिम फाईनलमा
गोलनेपाल

धनगढी । सुदुरपश्चिम–११ स्पोर्टस क्लब जारी पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शुक्रवार भएको दोस्रो सेमिफाईनलमा रोमाञ्चक जित हात पार्दै सुदुरपश्चिम उपाधि नजिक पुगेको हो ।

धनगढी रंगशालामा भएको दोस्रो सेमिफाईनलमा पिएफए अत्तरिया विरुद्ध ३–२ को रोमाञ्चक जित निकाल्दै सुदुरपश्चिम फाईनलमा पुगेको हो । अब उपाधिका लागि सुदुरपश्चिम–११ ले स्टार सिटी युवा क्लबसँग शनिबार फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

खेलको दशौं मिनेटमा सुदुरपश्चिम–११ का कप्तान गजेन्द्र शाहीले गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाए । यद्यपि सुदुरपश्चिमको त्यो अग्रता धेरैबेर टिक्न सकेन । पिएफए अत्तरियाका लागि अजित गुरुङले गोल गर्दै खेल वरावरीमा ल्याएका थिए । मैदानको दाया साईडवाट दिपेश श्रेष्ठले दिएको पासलाई अजितले गोलमा परिणत गरेका थिए ।

पहिलो हाफ कै २७औं मिनटमा अनुप गुरुङले दिएको पासमा डिवक्सभित्र रहेका अजित गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै पिएफएलाई २–१ को स्थितिमा पुराए । उता दोस्रो हाफतर्फको २२औं मिनटमा ग्लोरीले सुदुरपश्चिमका लागि दोस्रो बराबरी गोल फर्काए । लगतै फिलिप तामाङले सुदुरपश्चिमका लागि तेस्रो गोल गरे, जुन निर्णायक गोल पनि बन्यो ।

फारवेस्ट पशुपति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित पाँच लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई जनही १५–१५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments