
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका नवनियुक्त इटालियन प्रशिक्षक भिन्सैन्जो अल्बर्टो एनेसले विदेशिएका खेलाडीहरुलाई राष्ट्रिय टोलीमा सामेल नगर्ने आशय व्यक्त गरेका छन् । उनले गैरव्यवसायीक फुटबल खेल्ने खेलाडीहरु आफ्नो रोजाईमा नपर्ने बताएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक भिन्सेन्जोलाई सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ३८ वर्षिय इटालियन प्रशिक्षकले सो कुरा अभिव्यक्त गरेका हुन् । उनको यो कुराको आशय भने हाल विदेश पलायन भएका राष्ट्रिय खेलाडीहरुतर्फ नै इंगित थियो ।
उनले घरेलु फुटबलमा यसअघि र अहिले खेलिरहेका खेलाडीहरुलाई समेटेर टिम तयार पार्ने बताए । टिममा युवा खेलाडीहरुलाई पनि अवसर दिने आफ्नो योजना रहेको उनले सुनाए । उनले जारी लिगमा नियमित खेलाडीहरुको प्रदर्शन नियालिरहेको बताउँदै आफ्नो नजरमा पर्ने राम्रा युवा खेलाडीहरुलाई अवसर दिने पनि स्पष्ट पारे ।
साथै विदेशमा खेलिमा खेलिरहेका (रोहित, किरन) खेलाडीहरुको खेल पनि आफूले निरन्तर नियालिरहेको पनि बताए । प्रशिक्षक भिन्सेन्जोले नेपाली राष्ट्रिय फुटबल टोलीमा अब युवा र अनुभवी खेलाडीहरुलाई मिसाएर टिम बनाउने बताए । यसो गर्दा युवा खेलाडीहरुलाई अनुभवी खेलाडीहरुबाट सिक्ने अवसर मिल्ने र टिममा अभ्यस्त हुन पनि सहज हुने उनको बुझाई थियो ।
स्मरण रहोस, केही महिना अघिदेखि अधिकांश खेलाडीहरु विदेश पलायन भएपछि अहिले नेपाली राष्ट्रिय फुटबल टोली रित्तो जस्तै भईसकेको छ । टोलीलाई अब फेरि पूर्णता दिन प्रशिक्षक भिन्सेन्जोले नयाँ खेलाडीहरुलाई पनि समावेश गरेर राम्रो टिम बनाउने लक्ष्यमा छन् ।
नेपालले यसै महिना प्रधानमन्त्री थ्री नेशन्स कप खेल्दैछ । जसमा नेपालसहित भुटान र लाओसले प्रतिस्पर्धा गर्ने तय भईसकेको छ । प्रशिक्षक भिन्सेन्जोको यो नेपाली टोलीको प्रशिक्षकका रुपमा पहिलो जिम्मेवारी पनि हुनेछ ।