News प्रथम कोहलपुर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

कोहलपुर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ कोहलपुर रेसिङ्ग सहारा क्लब, बाँकको आयोजनामा यही चैत ४ गतेदेखि शुरु हुन गईरहेको प्रथम कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

कोहलपुर १३ बिघा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक भईसकेको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक कोहलपुर रेसिङ्ग सहारा क्लब, बाँके र कपिलवस्तु–११ बीच हुनेछ । प्रतियोगितामा दुई विदेशी र ए डिभिजन क्लबहरुसहित कुल ८ टोलीहरुले सहभागिता जनाउने छन् ।

हुलास खाद्य उद्योग प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

कोहलपुर नगरपालिका, बाँकेको विशेष सहयोग रहने प्रतियोगिताको फाइनल खेल भने चैत ११ गतेका दिन हुनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

 

Post Comments