News पाँच गोलको थ्रीलरमा शेर्पा सफल
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले रोमाञ्चक जित हात पारेको छ । एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा शेर्पाले च्यासल युथ क्लबलाई ३–२ ले हरायो ।

खेलमा शुरुवाती अग्रता पनि शेर्पाले नै बनाएको थियो । २८औं मिनटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई खेलमा शुरुवाती अग्रता दिलाए । त्यसको पाँच मिनट लगतै त्रिदेव गुरुङले शेर्पाको त्यो अग्रता दोब्बर पारे ।

तर दोस्रो गोल खाए लगतै च्यासलले खेलमा फर्कने संकेत देखायो । ३७औं मिनटमा जापानी खेलाडी हातायो वाकिनोले च्यासलका लागि पहिलो गोल गरे । यद्यपि दोस्रो हाफ लगतै ५०औं मिनटमा विजय श्रेष्ठले नै व्यक्तिगत दोस्रो तथा शेर्पाका लागि तेस्रो गोल गरे ।

उता खेलको ८९औं मिनटमा हायातो आकिनोले च्यासलका लागि दोस्रो गोल गरे । तर, त्यतिबेलासम्म टोलीको हार टार्न अबेर भईसकेको थियो । खेलमा शेर्पाका उलरिच सिवे म्यान अफ द म्याच घोषित भए ।

यो जितपछि ११ खेलबाट १० अंक जोडेको शेर्पा लिग तालिकाको ११औं स्थानमा छ । उता पराजित च्यासल भने १२ अंकका साथ लिगतालिकाको दशौं स्थानमा रहेको छ ।

Post Comments