News अर्जुनधाराको युथ अफ खुदुनाबारी फाइनलमा प्रवेश
रमेश समदर्शी

झापाको बिर्तामोडमा जारी दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा अर्जुनधाराको युथ अफ खुदुनाबारी फाइनलमा प्रवेश गरेको छ ।

आयोजकलाई पहिलो सेमिफाइनलमा रोक्दै खुदुनाबारीले फाइनल यात्रा तय गरेको हो ।

खुदुनाबारीका लागि राजेश दाहालले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे भने विशाल खवासले थप २ गोल गर्न सफल भए । कडा प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता खुदुनाबारीले लिएको थियो । खेलको २८औँ मिनेटमा राजेश दाहालले गोल गरेर टोलीलाई हौसला प्रदान गरेका थिए । उनैले ५४औँ र ६४औँ मिनेटमा थप गोल गरेर ह्याट्रिक पूरा गरेका थिए ।

यसअघि खुदुनाबारीकै विशाल खवासले खेलको ६३औँ मिनेटमा गोल गर्दै टालीको नतिजा ३-० गोलको अग्रता पनि दिलाएका थिए । विशालको गोलको १ मिनेटपछि पुनः राजेशले गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका हुन् । यस्तै, एकोहोरो दबाब सिर्जना गरिरहेको खुदुनाबारीलाई आयोजकले खेलको अन्तिम समय दबाब दियो । तर, खुदुनाबारीकै लागि विशाल खवासले खेलको ७१औँ मिनेटमा गोल गर्दै ५-० को स्थितिमा पुर्याएका हुन् । फोर्थ अफिसियलबाट अन्तिम समयमा ४ मिनेटको इन्जुरी समय थप गरिएपछि खेल सकिन १ मिनेट बाँकी रहँदा आयोजक बुट्टबारीका लागि विवेक राईले सान्त्वना गोल फर्काएका थिए ।

खेलको म्यान अफ दी म्याच प्रतियोगिताकै पहिलो ह्याट्रिककर्ता खुदुनाबारीका राजेश दाहाल घोषित भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले नगद २ हजार प्रदान गरे । भोलि (बिहीबार) साविक विजेता बिर्तामोड युनाइटेड एफसी र कचनकवलको बगान युथ क्लबबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउनेछ ।

Post Comments