News २२औं तिलोत्तमा गोल्डकप शुरु, सुदुरपश्चिमको विजयी शुरुवात
सुरज राना मगर

बुटवल । रुपन्देहीमा आयोजना हुने मोफसल कै प्रतिष्ठित २२औं तिलोत्तमा गोल्डकपमा सुदुरपश्चिम–११ ले उत्कृष्ट शुरुवात गरेको छ । बुटवल–११ स्थित एन्फा टेक्निकल सेन्टरमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमले आयोजक करेन्ट रुपन्देही–११ विरुद्ध ३–१ को जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको हो ।

सुदुरपश्चिमको जितमा फागुराम थारु स्टार बने । उनले खेलको ३१औं मिनटमा पहिलो गोलको खाता खोले । दोस्रो हाफतर्फ ४७औं मिनटमा स्वम्य हार्दिकले सुदुरपश्चिमका लागि दोस्रो गोल थपे । घरेलु टोली विरुद्ध निरन्तर दबाब बनाएको सुदुरपश्चिमका लागि फागुरामले नै ६९औं व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पाहुना टोलीको जित पक्का गरे ।

उता खेलको अन्तिमतिर रुपन्देहीले पेनाल्टीको अवसर पाएको थियो । फोडे फोफनाले कुनै गल्ती नगरी गोलमा परिणत गरे तापनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलमा सुदुरपश्चिमका लागि निर्णायक दुई गोल गरेका फागुराम थारु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ११,१११ रुपैयाँ हात पारे ।

यो जितसँगै सुदुरपश्चिम सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत चैत ५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल हिमालयन शेर्पा क्लब र थ्रीस्टार क्लबबीच हुने खेल संयोजक हिमाल गौचनले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खिलराज पाण्डे, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोकन पुन, उपाध्यक्ष मुकेश कुँवर, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव जय प्रकाश भट्टराई लगायतले संयुक्त रुपमा गरेका थिउ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत ११ गतेका दिन हुनेछ ।

Post Comments