News आर्मी र मनाङको जित, पुलिसलाई पहिलो अंक
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार भएका तीन खेलहरु मध्ये त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले जित हात पारेका छन् ।

च्यासल स्टेडियममा भएको खेलमा आर्मीले फ्रेण्डसलाई २–१ ले हरायो । खेलको पाँचौं मिनटमै रफिक अमिनुको गोलबाट फ्रेण्डसले खेलमा अग्रता बनाए पनि आर्मीले खेलमा पूनःरागमन गर्न सफल भएको थियो । २४औं मिनटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि बराबरी गोल फर्काए ।

यद्यपि निर्णायक गोलका लागि भने आर्मीले अन्तिमसम्म संघर्ष गर्नुपर्यो । खेलको इन्जुरी समयमा दिपक गुरुङ्गले निर्णायक गोल गर्दै आर्मीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

यो जितपछि ५ खेलबाट ८ अंक जोडेको आर्मी लिगतालिकाको पाँचौं स्थानमा पुगेको छ । पराजित फ्रेण्डस भने ४ अंकका साथ १२औं स्थानमा छ ।

दोस्रो स्थानमा उक्लियो मनाङ

त्यस्तै शनिबार नै दशरथ रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले पनि उत्कृष्ट पूनःरागमन गर्दै एपिएफ क्लबमाथि २–१ को जित दर्ता गर्यो ।

खेलको ३४औं मिनटमा अर्माण्ड बिडुमको गोलबाट एपिएफले शुरुवाती अग्रता पनि त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । दोस्रो हाफको ५२औं मिनटमा कमल थापाले मनाङका लागि बराबरी गोल फर्काए । खेलको ७४औं मिनटमा सैदजामोल दवरातजोनोवले निर्णायक गोल गर्दै मनाङको तीन अंक पक्का गरे ।

यो जितपछि ५ खेलबाट ११ अंक जोडेको मनाङ लिगतालिकाको शिर्ष दुईमा उक्लेको छ । र लिगलिडर सातदोबाटो भन्दा एक अंकले मात्र पछाडी छ । उता पराजित एपिएफ भने ७ अंकका साथ छैठौं स्थानमा छ ।

पुलिसलाई पहिलो अंक

लिगतर्फ अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सिजनको पहिलो अंक जोड्न सफल भयो । दशरथ रंगशालामा भएको खेलमा पुलिसले न्युरोडटिम (एनआरटी)सँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न सफल भएको हो ।

यो नतिजापछि ५ खेलबाट १ अंक जोडेको पुलिस लिगतालिकाको पुछार मै संघर्षरत छ । उता एनआरटी भने २ अंका साथ पुलिसभन्दा एक स्थान माथि १२औं स्थानमा छ ।

Post Comments