News जेजेको शानदार जितमा अभिषेकको ह्याट्रिक
गोलनेपाल

काठमाडौं । हाल माल्दिभ्सको दोस्रो डिभिजनमा व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर अभिषेक रिजालले आफ्नो टोली जेजे स्पोर्टसका लागि ह्याट्रिक गरेका छन् ।

शनिबार माले स्थित नेशनल फुटबल स्टेडियममा भएको खेलमा अभिषेकको टोली जेजे स्पोर्टस क्लबले माहिबधु स्पोर्टस क्लबलाई ७–३ को फराकिलो अन्तरले हरायो ।

खेलमा अभिषेकले ह्याट्रिकसहित चार गोल गरे । खेलको दशौं मिनटमै अभिषेक रिजालले जेजेका लागि पहिलो गोल गरेका थिए । यद्यपि १५औं मिनटमी विपक्षीका लागि अहमद फुआओले बराबरी गोल फर्काए ।

तर खेलमा शुरुवातबाटै आक्रमक देखिएको जेजेका लागि १७औं मिनटमै अहमद आइहमले दोस्रो गोल गरे । ३७औं मिनटमा अलि नाफिउले जेजेको त्यो अग्रता तेब्बर पारे । पहिलो हाफसम्म जेजेले खेलमा ३–१ को अग्रता कायम राख्यो ।

दोस्रो हाफमा थप आक्रमक बनेको जेजेका लागि ५१औं मिनटमा अलि हाफिजले चौथो गोल गरे । त्यसको एक मिनट बित्न नपाउँदै अभिषेक रिजालले जेजेका लागि पाँचौं तथा व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ६८औं मिनटमा अभिषेकले नै पेनाल्टीबाट जेजेका लागि पाँचौं गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरे । उता माहिबधुका लागि ८१ र ८७औं मिनटमा क्रमशः इस्माइल नाजिर र शुएब शाइदले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् ।

तेस्रो गोल खाए लगतै जेजेका लागि अभिषेकले नै इन्जुरी समयको ९२औं मिनटमा व्यक्तिगत चौथो तथा टोलीका लागि सातौं गोल गर्दै जेजेको फराकिलो र शानदार जित पक्का गरे ।

स्मरण रहोस, अभिषेकले यसअघि सुपर युनाइटेड स्पोर्टस विरुद्ध पनि गोल गरेका थिए । तर त्यो खेलमा जेजे २–१ ले पराजित हुन पुगेको थियो ।

साथै यो जितसँगै जेजे जारी दोस्रो डिभिजन लिगको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भएको छ ।

Post Comments