News स्टार सिटीलाई पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कपको उपाधि
गोलनेपाल

धनगढी । पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लवले जितेको छ । धनगढी रंगशालामा भएको फाईनलमा स्टार सिटीले सुदुरपश्चिम–११ लाई १–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

स्टार सिटीका लागि पहिलो हाफको इन्जुरी समयमा बिक्रम सिंहले गरेको एक मात्र गोल निर्णायक बन्यो । बिक्रमलाई त्यो गोलका लागि विदेशी खेलाडी ओरियलको सुन्दर पास मिलाइदिएका थिए ।

प्रतियोगिताको विजेता बनेको स्टार सिटीले उपाधिसहित पाँच लाख हात पार्यो भने उपविजेता बनेको सुदूरपश्चिम ११ ले दुई लाख ५० हजारमा चित्त बुझायो । त्यस्तै स्टार सिटीका कुवेर सिंह प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे ।

उत्कृष्ट प्रशिक्षक स्टार सिटीकै कुमार शाही बने भने उत्कृष्ट गोलरक्षक पनि स्टार सिटीका प्रियम खड्का चुनिए । त्यस्तै उत्कृष्ट रक्षक स्टार सिटीका राकेश हमाल बन्दा सर्वाधिक गोलकर्ता स्टार सिटीकै विक्रम सिंह भए । त्यसैगरी प्रतियोगिताको उदयीमान खेलाडी फारवेष्ट पशुपति युवा क्लबका रोशन विसी घोषित भए । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावत तथा धनगढी उपमहानगरपालिका मेयर नृप ओड लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

यहि माघ १७ गतेदखि सुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको थियो ।

फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।

Post Comments