काठमाडौ । राष्ट्रिय पुरुष फुटबल टोलीका दुइृ महत्वपूर्ण सदस्यद्वय सुजल श्रेष्ठ र रजिन धिमाल पनि सुनिश्चित भविष्यको खोजीमा विदेशिएका छन् । यी दुवै खेलाडी अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् ।
विदेश उड्नु अघि सुजलले भने अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा पनि गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्दै विदेशिने निधो गरेका हुन् । “केही खुशीका पल त केही दुःखका, कतै उपाधि त कतै निराश क्षण लगायत यी सबै तितामिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो सन्यास घोषणा गर्दछु ।” सुजलले सामाजिक सञ्जालमा लेखेका छन् ।
देशका लागि ११ वर्ष खेल्दै ५१ अन्तर्राष्ट्रिय क्याप जितेका सुजलले सन्यासको घोषणा गर्दै गर्दा अब नयाँ पिंढीलाई पालो दिनुपर्ने पनि बताएका छन् । साथै उनले यो फुटबल यात्रामा साथ, हौसला र माया दिने सबैप्रति आभार र धन्यवाद प्रकट गरेका छन् ।
नेपालका लागि एएफसी सोलिडारिटी कप, साग लगायत अन्य अन्तर्राष्ट्रिय उपाधि समेत जितेका सुजलले क्लब फुटबलमा मनाङ मस्र्याङदी क्लब हुँदै हाल मच्छिन्द्र क्लबमा आवद्ध थिए । उनले दुवै क्लबका लागि लिग उपाधि समेत जित्न सफल भएका थिए । नेपाली फुटबलमा सफलतम मिडफिल्डरका रुपमा आफूलाई उभ्याएका सुजलको खेल कौशल अब देख्न नपाइने निश्चित बनेको छ।
त्यस्तै सुजलसँगै उनकै क्लब टिममेट तथा अन्तर्राष्ट्रिय खेलाडी रजिन धिमाल पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् । यी दुवै खेलाडी हाल मच्छिन्द्र मै आवद्ध थिए । यी दुवै खेलाडीले मच्छिन्द्रका लागि हालै सम्पन्न केपी ओली कपको उपाधि पनि जितेका थिए । रजिनले यसअघि थ्रीस्टार क्लबका लागि पनि खेलेका थिए ।
यी दुई खेलाडीहरुको अष्ट्रेलिया प्रस्थानसँगै नेपाली खेलाडीहरुको विदेश पलायनको सूची थप लम्बिएको छ । यसअघि सुमन लामा, आशिष लामा, सुमन अर्याल, अभिषेक रिजाल, नितीन थापा, सन्तोष तामाङ, शिव गुरुङ, आकाश बुढा मगर लगायतका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि विदेश पलायन भईसकेका छन् । र यो सूची अझै लम्बिने निश्चित प्रायः छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न