News इलाम नगरपालिकालाई पालिकास्तरीय फुटबलको उपाधि
रमेश समदर्शी

इलाम जिल्ला प्रथम पालिकास्तरीय खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि इलाम नगरपालिकाले रक्षा गरेको छ ।

चिरपरिचित प्रतिद्वन्द्वी हेलिबोथ एफसीलाई पराजित गर्दै इलामले उपाधि रक्षा गरेको हो । आज नेपालटार माविको खेलमैदानमा भएको फाइनल खेलमा इलामले ४-२ गोलअन्तरले हेलिबोटलाई पराजित गर्दै उपाधि कब्जा गरेको हो । इलामले पहिलो हाफमै २ १ को अग्रता लिएको थियो । तीन अफ्रिकन खेलाडीसहित मैदानमा उत्रिएको हेलिबोथ खेलको अन्त्यतिर आक्रामकरुपमा प्रस्तुत भए पनि जितका लागि सम्भव भएन ।

इलामका युवराज राईले खेलको १३औँ मिनेटमा गोल गर्दै खेलको सुरुवाती अग्रता भने बनाएका थिए । खेलको २६औँ मिनेटमा हेलिबोथका लागि विदेशी खेलाडी नेपोलियनले गोल गर्दै खेललाई बराबरीमा ल्याइपुर्याएका थिए । यसैगरी, इलामकै मलिन लिम्बूले खेलको ३६औँ मिनेटमा आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाउँदै २-१ गोलको स्थितिमा ल्याए । यस्तै, खेलको ३८औँ मिनेटमा इलामका दिनेश लिम्बूले गोल गर्दै ३-१ गोलको अन्तर निकाले । उनैले ६४औँ मिनेटमा गोल गर्दै फराकिलो अन्तर निकाले भने व्यक्तिगत दुई गोल गर्न सफल भए । हेलिबोथका लागि फेरि नेपोलियनले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तर ४-२ मा झारे पनि जित सम्भव भएन ।

खेलको म्यान अफ दी म्याच इलामका युवराज राई भए । उनलाई ग्लोबल आईएमई बैंकको तर्फबाट नगद ५ हजार प्रदान गरियो । यस्तै, खेलको उत्कृष्ट खेलाडी इलामकै दिनेश लिम्बू बने । उनले आयोजकका तर्फबाट नगद ५ हजार १ सय र ट्रफी पाए । इलामकै गोलरक्षक विवेक मगर उत्कृष्ट बन्दै नगद ५ हजार पाउन सफल बने भने सर्वाधिक गोलकर्ता ६ गोल गरेका हेलिबोथका नेपोलियन घोषित भए ।

साखेजुङ खेलकुद विकास समिति नेपालटारले आयोजना गरेको प्रतियोगिताको विजेता इलामले नगद २ लाख र ट्रफी प्राप्त गरेको छ भने उपविजेता हेलिबोथले नगद १ लाखमा चित्त बुझायो । आयोजक समितिका अध्यक्ष निम्तेन्जी शेर्पाको अध्यक्षतामा भएको फाइनल खेलमा इलाम नगरपालिकाका प्रमुख केदार थापा, विजेताको रकम प्रायोजन गरेका विपिन बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए ।

Post Comments