News छैंठौं भोजपुर गोल्डकपमा आयोजकको विजयी शुरुवात
गोलनेपाल

भोजपुर । शुक्रबारदेखि शुरु छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा आयोजक भोजपुर जिल्ला फुटबल संघले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा एनबीवाइसी, सप्तरीलाई ४–२ ले हराउँदै भोजपुरले विजयी शुरुवात गरेको हो ।

भोजपुरको जितमा सन्तोष तामाङले खेलको ३०, ८० र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक जमाएका थिए । यद्यपि खेलमा घरेलु टोलीलाई शुरुवाती अग्रता भने छैठौं मिनटमा दिपक आले मगरले दिलाएका थिए । उता पराजित एनबीवाइसीका लागि ५१औं मिनटमा नितेश लिम्बु र इन्जुरी समयमै निश्चल मोक्तानले गोल गरे तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलमा ह्याट्रिक गरेका आयोजक भोजपुरका सन्तोष तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र मेडल हात पारे । साथै यो जितसँगै भोजपुर प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत चैत ११ गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल डागीहाट युथ क्लब, मोरङ र युके एफसी, भारतबीच हुने आयोजकले जानकारी दियो । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गरेका थिए ।

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत १६ गतेका दिन हुनेछ ।

Post Comments