News छैठौं भरौल गोल्डकप शुरु, राष्ट्रिय जागृति क्लबको विजयी शुरुवात
गोलनेपाल

बराहक्षेत्र । बुधबारदेखि शुरु छैठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको राष्ट्रिय जागृति क्लब, इटहरीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा एन्फा मोरङलाई टाईब्रेकरमा हराउँदै राष्ट्रिय जागृतिले विजयी शुरुवात गरेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा भने राष्ट्रिय जागृति क्लब ४–३ ले विजयी बन्यो । यो जितसँगै राष्ट्रिय जागृति क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलमा राष्ट्रिय जागृति क्लबका हिसुब थपलिया म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत चैत १६ गते बिहीबारको दोस्रो क्वाटरफाइनल आयोजक न्यु स्टार क्लब र कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारतबीच हुने आयोजकले जानकारी दियो ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारीले गरेका थिए ।

न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिकाको संयोजनामा शुरु प्रतियोगिताको फाइनल खेल भने चैत २२ गतेका दिन हुनेछ ।

Post Comments