News प्लानिङ ब्वाईज भरौल गोल्डकपको फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । संघर्षपुर्ण जितका साथ क्षमादेवी प्लानिङ ब्वाईज युथ क्लब, काठमाडौं यहाँ जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ प्लानिङले राष्ट्रिय जागृति क्लब, इटहरीलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यद्यपि टाईब्रेकरमा भने प्लानिङ ब्वाईजले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा प्लानिङ ब्वाईजका गोलरक्षक लोकेश चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत चैत २० गते सोमबारको दोस्रो सेमिफाइनल खेल ब्वाईज युनियन क्लब, काठमाडौं र कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारतबीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २२ गतेका दिन हुनेछ ।

 

Post Comments