News थ्रीस्टारसँग आर्मी स्तब्ध, मच्छिन्द्र जोगियो
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार थ्रीस्टार क्लबले बलियो त्रिभुवन आर्मी फुटबल क्लबमाथि महत्वपूर्ण जित हात पार्दा साविक विजेता मच्छिन्द्र भने सम्भावित हारबाट जोगिएको छ ।

च्यासल स्टेडियममा भएको खेलमा थ्रीस्टारले आर्मीलाई शून्यका विरुद्ध १ गोलले हरायो । पहिलो हाफको १७औं मिनटमा अजयी मार्टिन्सले गरेको एक मात्र गोल थ्रीस्टारलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितपछि ६ खेलबाट १० अंक जोडेको थ्रीस्टार लिगतालिकाको छैठौं स्थानमा पुगेको छ । उता पराजित आर्मी भने ८ अंकका साथ आठौं स्थानमा छ ।

बिमलको गोलले मच्छिन्द्र जोगियो

त्यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको नाटकीय बराबरी खेले ।८६औं मिनटमा सत्यम शर्माको पेनाल्टी गोलबाट अग्रता लिएको शेर्पाले इन्जुरी समयमा त्यो अग्रता गुमाउन पुगेको थियो । खेलको इन्जुरी समयमा बिमल घर्ती मगरले मच्छिन्द्रका लागि गोल गर्दै डिफेन्डिङ च्याम्पियनको सम्भावित हार टारेका थिए ।

यो नतिजापछि ६ खेलबाट ६ अंक जोडेको मच्छिन्द्र दशौं स्थानमा छ । उता समान ६ अंक जोडे तापनि शेर्पा राम्रो गोल भिन्नताका आधारमा नवौं स्थानमा छ ।

Post Comments