News लिगको अन्तिम खेल नै फाइनल, इतिहास रच्ने दुवै टोलीलाई अवसर
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ नेपाल आर्मी र मच्छिन्द्र क्लबबीचको अन्तिम खेल फाइनल खेलका रुपमा हुने निश्चित भएको छ । फागुन ३ गते दशरथ रंगशालामा हुने लिगको अन्तिम खेलमा आर्मी र मच्छिन्द्र उपाधिका लागि भिड्ने छन् ।

मंगलबार ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई ३–० ले हराएपछि आर्मी लिगतालिकाको फेरि शिर्ष स्थानमा उक्लियो । १२ खेलबाट २९ अंक जोडेको आर्मी शिर्ष स्थानमा छ । उता सोमबार मात्र संकटालाई ३–१ ले हराएको मच्छिन्द्र २८ अंकका साथ दोस्रो स्थानमा छ ।

अन्तिम खेलमा आर्मीलाई लिग उपाधि जित्न बराबरी नतिजा पनि प्रर्याप्त बन्नेछ । उता मच्छिन्द्रलाई भने लिग उपाधिका लागि निश्चित जितको खाँचो पर्नेछ । लिग उपाधि यी दुई मध्ये जसले जिते पनि इतिहास भने बन्ने निश्चित छ । स्मरण रहोस, नेपाली ए डिभिजन लिगको इतिहासमा यी दुवै टोलीले अहिलेसम्म लिग जित्न सकेका छैनन् ।

लिग विजेता बन्ने टोलीले उपाधिसहित नगद ५० लाख पनि हात पार्नेछ । त्यस्तै यस सिजन सरस्वती युथ क्लब पनि रेलिगेशनमा पर्ने निश्चित भईसकेको छ । १२ बर्षे टप डिभिजन यात्रालाई सरस्वतीले यस सिजन खराब प्रदर्शनसँगै टुग्याएको छ ।

Post Comments