News घरेलु फुटबलका दुई चिरप्रतिद्वन्द्वीको लक्ष्य 'तेस्रो'
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग समापनको संघारमा आइपुग्दा घरेलु टोलीका दुई चर्चित टोली थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब यसपटक लिगको दावेदारिताबाट बाहिरिसकेका छन् ।

लिग शुरु हुनु अघि उपाधिको दावेदार मध्ये एक टोलीकै रुपमा हेरिएका यी दुई टोलीहरुले लिगको १२औं चरणको खेलहरु समाप्ती हुँदासम्म आफूलाई लिगको दावेदार बनाउन नसके तापनि लिगतालिकाको माथिल्लो स्थान मै रहेर लिगको समापन गर्न भरपुर प्रयासरत रहे ।

थ्रीस्टार र मनाङ दुवैले मंंगलबार १२औं चरणको आ–आफ्नो खेल खेले र जित पनि हात पारे । थ्रीस्टारले एनआरटी विरुद्ध १–० को कठिन जित हात पार्दा मनाङले भने पुलिसलाई २–० ले निराश तुल्यायो ।

यसका बावजुद घरेलु फुटबलका यी दुई परस्पर टोलीले यसपटक लिगको अन्तिम खेलसम्म पनि प्रतिस्पर्धा गर्ने निश्चित भईसकेको छ । तर दुवै टोलीले दुई फरक प्रतिद्वन्द्वीको सामना गर्नेछन् । थ्रीस्टारले लिगको अन्तिम खेलमा फागुन २ गते च्यासलको सामना गर्नेछ भने सोही दिन मनाङले जावलाखेलसँग खेल्नेछ ।

१२ खेलको समाप्ती पश्चात् लिगतालिकामा मनाङ र थ्रीस्टार क्रमशः २५ र २३ अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यसको अर्थ दुवै टोलीसँग तेस्रो स्थानमा रहेर लिगको समापन गर्ने अवसर छ ।

मनाङले तेस्रो स्थान हासिल गर्न अन्तिम खेलमा जावलाखेललाई हराउनुपर्नेछ । साथै यदि अर्को खेलमा थ्रीस्टारले पराजय बेहोरे मनाङलाई बराबरी नतिजा पनि प्रर्याप्त बन्नेछ । उता थ्रीस्टारलाई तेस्रो स्थान हासिल गर्न जित हात पार्नुका साथै मनाङले पनि खेल हार्नु पर्नेछ वा बराबरीमा रोकिनु पर्नेछ ।

यो अर्थमा यी दुई चिरप्रतिद्वन्द्वीको अन्तिम खेल दुवैका लागि तेस्रो स्थान नै लक्ष्य बन्नेछ । जसका लागि दुवै टोलीले एक अर्काको नतिजामा पनि केही हदसम्म भर पर्नु पर्नेछ ।

 

Post Comments