News शाहीले आफ्नो पारिश्रमिकबाट मासिक ३ हजार खेलाडीहरुलाई दिने
गोलनेपाल

काठमाडौं । छोटो समयमै चर्चा बटुलिरहेका प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट मासिक ३ हजार रुपैयाँ खेलाडीहरुको नाममा जम्मा गरिदिने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत सो कुराको घोषणा गरेका हुन् ।

साथै उनले अन्य सांसदहरुलाई पनि यो अभियानमा सामेल हुन अनुरोध गरेका छन् । शाही लेख्छन्, “सबै प्रदेश संघिय सांसदहरुलाई अनुरोध गर्दछु कि हामी ८८४ जना छौं यदि हरेक सांसदले महिनाको ३ हजार खेलाडीको नाममा खर्च गर्दा २६ लाख ५२ हजार रुपैया प्रत्येक महिना खेलाडीले पाउँछन् र देशको नाम संसार भर चिनाउन सहयोग पुग्छ।”

स्मरण रहोस, नेपालमा हाल खेलाडीहरुको आर्थिक अवस्था कमजोर हुँदै गएपछि धेरैजसो खेलाडीहरु विदेश पलायन भईसकेका छन् । कतिपय पलायन हुने तरखरमा पनि छन् । खेलाडीहरुको भविष्यप्रति सम्बन्धित निकाय उदासिन बन्दा देशका गहना मानिने खेलाडीहरुको विदेश पलायनको क्रमले विकराल रुप लिंदै गईरहेको छ ।

यद्यपि अहिले शाहीको यो घोषणाले खेलाडीहरुलाई केही हदसम्म हौसला मिल्ने अपेक्षा गरिएको छ । वास्तव मै सरकार र सम्बन्धित पक्षले खेलाडीहरुको भविष्यप्रति गम्भिर भईदिए देशको खेलक्षेत्रले मुहार फेर्न धेरै समय नलाग्ने धेरैको बुझाई पनि छ ।

Post Comments