News जावलाखेलको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं । दश खेलाडीमा सिमित हुनुका बावजुद जावलाखेल युथ क्लबले शहिद स्मारक ए डिभिजन लिगमा बुधबार उत्कृष्ट बराबरी खेल्दै सम्भावित हार टारेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा जावलाखेलले हिमालयन शेर्पा क्लबलाई ३–३ को रोमाञ्चक बराबरीमा रोक्यो । खेल शुरु भएको पाँचौं मिनटमै स्टेफनले गोल गर्दा खेलमा जावलाखेल पछि पर्न पुगेको थियो ।

२६औं मिनटमा विजय श्रेष्ठले शेर्पाको त्यो अग्रता दोब्बर पारे । दोस्रो गोल खाएको केही मिनट लगतै जावलाखेल फेरि दबाबमा पर्न पुग्यो । गोलरक्षक अरुण ब्लोनले बक्स बाहिर फल गरेपछि रेफ्रीले उनलाई सोझो रातो कार्ड देखाएका थिए ।

फलस्वरुप, जावलाखेल पहिलो हाफबाटै दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा कुबेर बिष्टले जावलाखेलका लागि पहिलो गोल फर्काए ।

तर जावलाले त्यो गोलको खुशी एक मिनट पनि मनाउन सकेन । गोल खाएको एक मिनट बित्न नपाउँदै स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफ मै शेर्पालाई ३–१ को स्थितिमा पुर्याए ।

यद्यपि दोस्रो हाफमा भने जावलाखेलले उत्कृष्ट पूनरागमन गर्यो । ६०औं मिनटमा फोडे फोफोनाले जावलाखेलका लागि दोस्रो गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । लगतै ६८औं मिनटमा रुप बहादुर लामाले जावलाखेलका लागि तेस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा जावलाखेलका कुबेर बिष्ट म्यान अफ द म्याच घोषित भए । यो नतिजापछि १२ खेलबाट १९ अंक जोडेको जावलाखेल लिगतालिकाको पाँचौं स्थानमा छ । उता शेर्पा भने ११ अंकका साथ ११औं स्थान मै छ ।

Post Comments