News मदन मेलामा फेदापलाई महिला फुटबलको उपाधि
रमेश समदर्शी

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा आयोजित ऐतिहासिक आठराई मदन मेला २०८० को महिला फुटबलको उपाधि मुनाल युथ क्लब फेदापले चुमेको छ ।

स्पर्धी म्याङलुङ स्पोर्टिङ तेह्रथुमलाई आज सम्पन्न फाइनल खेलमा १-० गोलअन्तरले पराजित गर्दै फेदापले उपाधि रक्षा गरेको हो । पहिलो हाफ बराबरीमा सकिए पनि फेदापले दोस्रो हाफमा गोल गर्न सफल भयो ।

फेदापका लागि डिफेन्डर कमला श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो । खेलको ४४औँ मिनेटमा पाएको फ्रिकिकमा कमला श्रेष्ठले सिधै विपक्षीको गोलपोस्टमा जाली चुमाएकी हुन् । करिब ३० यार्डको दूरीबाट प्रहार गरेको बललाई म्याङलुङकी गोलरक्षक मनिता राईले बचाउने प्रयास गरे पनि असफल भइन् ।

खेलको बेस्ट प्लेयर फेदापकी कमला श्रेष्ठ बनिन् भने बेस्ट स्ट्राइकर म्याङलुङकी समिक्षा मगर भइन् । यस्तै, बेस्ट किपर फेदापकी रुपा थापा बनिन् । उनीहरुले जनही २-२ हजार पाए । विजेता फेदापले नगद ८० हजार र रनिङ शिल्ड पाएको छ भने उपविजेता म्याङलुङले नगद ५० हजार र ट्रफी पाएको छ ।

Post Comments