News तेह्रथुमः फोम्बो समाजलाई ऐतिहासिक आठराई मदन मेला २०८० फुटबलको उपाधि
रमेश समदर्शी

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा आयोजित ऐतिहासिक आठराई मदन मेला २०८० को अवसरमा आयोजित मदन स्मृति फुटबल प्रतियोगिताको उपाधि फोम्बो आवाजुङ कल्याणकारी समाज खाम्लालुङले जितेको छ ।

साविक विजेता गिरी समाजलाई फोम्बो समाजले टाइब्रेकरमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफको ३८औँ मिनेटमा फोम्बो समाजका प्रदिप फोम्बोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, फोम्बो समाज अन्तिम २० सेकेण्ड सम्हालिन नसक्दा गिरी समाजले बराबरी गोल गर्यो । गिरी समाजका लागि इन्जुरी समयमा जमिन लिम्बूले गोल गरे ।

बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा फोम्बो समाजले गिरी समाजलाई ५-३ गोलअन्तरले पराजित गर्दै उपाधिमा कब्जा जमायो । गिरी समाजका लागि रोशन आङ्देम्बे, सन्तोष लिम्बू र विशाल भण्डारीको प्रहारमात्र गोलमा परिणत भयो भने कृतिक लिम्बूको प्रहार फोम्बो समाजका गोलरक्षक विपिन फोम्बोले रोकेका थिए ।

फोम्बो समाजका लागि सुशिल राई, समिर तामाङ, निरोज लिङदेन, प्रदिप फोम्बो र सुनिल चोङबाङको प्रहार गोलमा परिणत भएको थियो । विजेता फोम्बो समाजले जितसँगै नगद २ लाख, रनिङ शिल्ड र आकर्षक ट्रफी पाएको छ भने उपविजेता टोली गिरी समाजले नगद १ लाख ३० हजार र ट्रफीमा चित्त बुझायो ।

विजेता तथा उपविजेता टोलीलाई आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम, उपाध्यक्ष बलिराज इङनाम, वडाध्यक्ष तथा पालिका सदस्यहरुले पुरस्कार प्रदान गरेका थिए ।

Post Comments