News शेर्पासँग हार्दा जावलाखेललाई धक्का
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबार भएको १२औं चरणको अन्तिम खेलमा लिगलिडर जावलाखेल युथ क्लबले स्तब्धपुर्ण हार बेहोरेको छ । दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले पुछारतिर संघर्ष गरिरहेको टोली हिमालयन शेर्पा क्लबसँग १–२ को स्तब्धपुर्ण हार बेहोर्यो ।

शेर्पाका लागि खेलको नवौं र १८औं मिनटमा पिस्टन मुटम्बाले गरेको दुई गोल नै टोलीलाई महत्वपूर्ण जित र तीन अंक दिलाउन निर्णायक बन्यो । उता जावलाखेलका लागि दोस्रो हाफको ७२औं मिनटमा एन्कोटो मुसाबीले एक गोल फर्काए तापनि नतिजा उल्टाउन सकेनन् ।

बुधबार १२औं चरणका खेलहरु सम्पन्न भएका छन् । हारका बावजुद १२ खेलबाट २३ अंक जोडेको जावलाखेल शिर्ष स्थानमा यथावत छ । एक अंक कम २२ अंकका साथ थ्रीस्टार दोस्रो स्थानमा छ । थ्रीस्टारले बुधबार नै मच्छिन्द्रसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । मच्छिन्द्र भने १७ अंकका साथ सातौं स्थानमा छ ।

बुधबार नै संकटामाथि ०–४ को जित हासिल गरेको सातदोबाटो २१ अंकका साथ तेस्रो स्थानमा छ भने पराजित संकटा १५ अंकका साथ नवौं स्थानमा झरेको छ । बुधबार नै जावलाखेललाई हराउनुका बावजुद १३ अंकका साथ शेर्पा रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ । पुछारमा भने ९ अंक मात्र जोडेको संघर्षरत टोली पुलिस रहेको छ ।

Post Comments