News लिगमा पुलिसको तेस्रो जित
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ १३औंं चरणको खेल शुरु हँुदा बिहीबार यस सिजन संघर्षरत टोली नेपाल पुलिस क्लबले तेस्रो जित हात पारेको छ । दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा पुलिसले नवप्रवेशी टोली एफसी खुमलटारमाथि ३–१ को उत्कृष्ट जित निकाल्यो ।

पुलिसका लागि अहमद हिजाजीले दुई गोल गरे । उनले खेलको २७औं मिनटमा पहिलो गोलको खाता खोलेका थिए । पुलिसले १–० को त्यो अग्रतालाई पहिलो हाफसम्म कायम पनि राख्यो । तर दोस्रो हाफको ५३औं मिनटमा मेसुके ओलुमुले खुमलटारका लागि बराबरी गोल फर्काए ।

खेल बराबरीतर्फ लम्किरहेका बेला पुलिसले अन्तिमतिर दुई गोल गर्न सफल भयो । ८३औं मिनटमा मोसेस ट्वुमले पुलिसका लागि दोस्रो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा अहमद हिजाजीले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै पुलिसको जित सुनिश्चित गरे ।

यो जितका बावजुद १३ खेलबाट १२ अंक जोडेको पुलिस लिगतालिकाको पुछार मै छ । यद्यपि पुलिसले आफ्नो जितको लयलाई कायम राखे आगामी खेलमा रेलिगेशन क्षेत्रबाट बाहिर निस्किने बलियो सम्भावना पनि छ । पुलिसभन्दा माथिका तीन टोली हिमालयन शेर्पा, खुमलटार र न्युरोडटिम (एनआरटी) को समान १३–१३ अंक रहेको छ ।

फ्रेण्डस र एपिएफको बराबरी

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा फ्रेण्डस क्लब र एपिएफ फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलको २६औं मिनटमा प्रदिप लामाको गोलबाट अग्रता बनाएको एपिएफले त्यसलाई दोस्रो हाफमा गुमाउन पुग्यो ।

५१औं मिनटमा रफिक अमिनुले फ्रेण्डसका लागि बराबरी गोल गर्दै एपिएफसँग महत्वपूर्ण अंक खोस्न सफल भएका थिए । यो नतिजापछि १३ खेलबाट १८ अंक जोडेको एपिएफ छैठौं स्थानमा छ भने १५ अंक जोडेको फ्रेण्डस नवौं स्थानमा छ ।

Post Comments