News नमो बुद्ध प्रदेशस्तरीय महिला गोल्डकपको फाइनलमा
गोलनेपाल

बिर्तामोड । नमो बुद्ध युवा क्लब, सप्तरी यहाँ जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा नमो बुद्धले गाईघाट फुटबल क्लब, उदयपुरलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

महेन्द्र ज्योति माविको खेलमैदानमा भएको खेलमा नमो बुद्धका लागि निकिता थोकर र रश्मी कुमारी घिसिङले एक–एक गोल गरिन् । रश्मी खेलको प्लेयर अफ द म्याच समेत घोषित चुनिईन् । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरिन् ।

नमो बुद्धले अब उपाधिका लागि बैशाख १६ गते शनिबारका दिन आयोजक अल इन वान क्लब, झापासँग फाइनल खेल्नेछ । आयोजकले बुधबार नै सम्पन्न पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका, मोरङलाई ५–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

अल इन वान क्लब, बिर्तामोड, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ ।

Post Comments