News जोर्डनमाथि नेपालको उत्कृष्ट जित
गोलनेपाल

काठमाडौं । शुरुवाती खेलमा इरानसँग १–० को झिनो अन्तरले पराजित हुन पुगेको नेपालले एएफसी यु–१७ महिला एसियन कप छनौटतर्फ आफ्नो अन्तिम खेलमा आयोजक जोर्डनमाथि ४–१ को प्रभावशाली जित निकालेको छ । साथै यो जितसँगै नेपालको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि कायम रहेको छ ।

प्रिन्स मोहमद स्टेडियममा भएको खेलको १३औं मिनटमा बर्षा ओलीले पहिलो गोलको खाता खोलेकी थिईन् । ३२औं मिनटमा सुक्रिया मियाँले त्यो अग्रता दोब्बर पारिन् । ४४औं मिनटमा माया मास्केले नेपालका लागि तेस्रो गोल गर्दै टोलीलाई पहिलो हाफ मै बलियो स्थितिमा ल्याएकी थिईन् ।

त्यस्तै दोस्रो हाफको ५५औं मिनटमा सुक्रिया मियाले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन् । जुन नेपाललाई जित दिलाउन पर्याप्त बनिसकेको थियो । उता जोर्डनका लागि अन्तिमतिर इन्जुरी समयमा लिलिया अम्मर अल साहेलीले एक गोल फर्काए तापनि घरेलु टोलीको हार टार्न सकिनन् ।

समूह एच अन्तरगत आइतबार अन्तिम खेलमा इरान र जोर्डन भिड्ने छन् । यी दुई टोलीबीचको खेलपश्चात नै समूह एचबाट दोस्रो चरणमा पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।

Post Comments