News एन्फा र साउदी एफए बीच सम्झौता
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबिया फुटबल फेडरेशन (साफ) बीच फुटबल विकासबारे द्विपक्षीय सम्झौता भएको छ । साउदीको राजधानी रियादमा सम्पन्न सम्झौता कार्यक्रममा एन्फाको तर्फबाट अध्यक्ष पंकज विक्रम नेम्वाङ र उादी एफएको तर्फबाट अध्यष यासेर अल मिसेहालले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान गरेका छन् ।

सम्झौता अनुसार दुवै देशबीच फुटबलबारे विभिन्न पक्षमा सहकार्य र विकासका कार्यक्रम सम्पन्न गर्ने रहेको बताइएको छ । सम्झौताले दुवै देशका पुरुष र महिला फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता र अन्य फुटबल विकासका कार्यक्रमहरुमा पनि सहकार्य गर्ने रहेको एन्फाले जनाएको छ ।

त्यस्तै युथ फुटबल विकास कार्यक्रममा पनि दुवै पक्षले सहयोग र सहकार्य गर्ने सहमति समेत बनेको छ । साथै फुटबल प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न प्रशिक्षण कार्यक्रमहरु पनि सञ्चालन गरिने भएको छ ।

एन्फाका अनुसार दुवै पक्षबीच एक वर्षका लागि सहकार्य गर्ने सम्झौता भएको छ । स्मरण रहोस, साउदी एफएका अध्यक्ष यासेर फिफा काउन्सीलका सदस्य हुन् भने एएफसी डेभलपमेन्ट कमिटीका अध्यक्ष समेत हुन् । सोही डेभलपमेन्ट कमिटीको उपाध्यक्ष एन्फा अध्यक्ष नेम्वाङ रहेका छन् ।

साउदी एफएसँगको यो सम्झौताले नेपाली फुटबलको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

Post Comments