News बंगलादेश एएफसी यु–१७ महिला एसियन कप छनौटको दोस्रो चरणमा प्रवेश
गोलनेपाल

काठमाडौं (एजेन्सी) । लगातार दोस्रो जितका साथ दक्षिण एसियाली राष्ट्र बंगलादेश एएफसी यु–१७ एसियन कप छनौटको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । छनौट प्रतियोगिता अन्तरगत समूह डी मा रहेको बंगलादेशले आइतबार निर्णायक खेलमा आयोजक सिंगापुरलाई ३–० ले हरायो ।

आफ्नो पहिलो खेलमा बंगलादेशले तुर्कमेनिस्तानलाई ६–० ले हराएको थियो भने सिंगापुरले पनि तुर्कमेनिस्तानमाथि ७–० को जित निकालेको थियो । आइतबार समूह चरणको अन्तिम खेल बंगलादेश र सिंगापुर दुवैका लागि महत्वपूर्ण र निर्णायक थियो । जसमा बंगलादेशले ३–० को प्रभावशाली जितका साथ नतिजा आफ्नो पक्षमा पार्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।

समूह डी मा २ खेलबाट ६ अंक जोडेको बंगलादेश शिर्ष स्थानमा रह्यो भने ३ अंकका साथ आयोजक सिंगापुर दोस्रो स्थानमा रह्यो । त्यस्तै अंकविहीन तुर्कमेनिस्तान भने पुछारमा रहँदै प्रतियोगिताको समापन गर्न बाध्य बन्यो ।

स्मरण रहोस, छनौट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्ने बंगलादेश दक्षिण एसियाको दोस्रो टोली समेत हो । यसअघि समूह एफबाट भारतले पनि दोस्रो चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

छनौट प्रतियोगिता कै समूह एचमा रहेको नेपाल भने एक जित र एक हारका साथ दोस्रो स्थानमा रहेर समूह चरणबाटै बाहिरियो । नेपालको समूहबाट भने इरान दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । इरानले आइतबार समूह चरणको अन्तिम खेलमा आयोजक जोर्डनमाथि ७–! को जित निकाल्यो । नेपालले भने जोर्डनमाथि ४–१ को जित निकालेको थियो ।

Post Comments