News स्पोर्टस ओडिसाको जितमा रेखाको दुई गोल
गोलनेपाल

काठमाडौं । इण्डियन वुमन्स लिगमा स्पोर्टस ओडिसाका लागि खेलिरेहकी नेपालकी उदियमान युवा फरवार्ड रेखा पौडेलले पनि भारतीय मैदानमा आफ्नो उपस्थितिलाई मजबुतका साथ प्रमाणित गरिरहेकी छिन् । लिगको पहिलो खेल मै होप्स विरुद्ध डेब्यु गोल गरेकी रेखाले लिगतर्फ मंगलबार तेस्रो खेलमा पनि दुई गोल गरेकी छिन् ।

अहमदाबाद स्थित शाहीबाग पुलिस स्टेडियममा भएको खेलमा स्पोर्टस ओडिसाले कहानी फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हरायो । ओडिसाको जितमा रेखाले दुई गोल गरिन् भने थप एक गोल निशाले गरेकी थिईन् ।

लिगको समूह ए तर्फ रहेको ओडिसाले यो जितसँगै ३ खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा पकड बनाएको छ । शिर्ष स्थानमा भने ९ अंकका साथ गोकुलम केरला रहेको छ । त्यस्तै ओडिसासँग पराजित कहानी भने अंकविहीन रुपमा पुछारमा छ ।

समूह ए मै रहेको अर्को टोली इष्ट बंगालले माता रुकमणी एफसीमाथि २–० को जित निकाल्यो । यो जितपछि ३ खेलबाट ६ अंक जोडेको इष्ट बंगाल स्पोर्टस ओडिसासँगै समान अंक भए तापनि गोलभिन्नताका आधारमा पछि पर्दै चौथो स्थानमा छ । पराजित माता रुकमणी भने अंकविहीन रुपमा सातौं स्थानमा छ ।

लिगमा सहभागी कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

Post Comments