News लिगमा संकटाको सुखद समापन, अन्तिम खेलमा पनि हार्यो सरस्वती
गोलनेपाल

काठमाडौं । गत संस्करणको उपविजेता समेत रहेको संकटा क्लबले यस सिजन कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको सातौं स्थानमा रहेर आफ्नो यात्रा समापन गरेको छ । यद्यपि लिग चरणको आफ्नो अन्तिम खेलमा संकटाले उत्कृष्ट जितका साथ सुखद समापन गर्न भने सफल भयो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले रेलिगेशनमा परिसकेको सरस्वती युथ क्लबलाई ६–२ को फराकिलो अन्तरले हरायो । संकटाका लागि मेसुकोले पाँचों र ३३औं मिनटमा गरेर लगातार दुई गोल गरेका थिए । ३७औं मिनटमा सुवास गुरुङले संकटाका लागि तेस्रो गोल गरे । पहिलो हाफसम्म संकटाले ३–० को अग्रता कायम गर्यो ।

उता दोस्रो हाफ शुरु भएपछि ५९औं मिनटमा टिकाराज गुरुङले संकटाका लागि चौथो गोल गरे । ६६औं मिनटमा पुर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गर्दा संकटाले आफ्नो अग्रता ५–० को बनाइसकेको थियो । त्यसलगतै ६८ र ७८औं मिनटमा सरस्वतीका लागि काजिमले लगातार दुई गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर त्यो प्रयास सफल भएन ।

उता ८५औं मिनटमा रोशन पहारीले संकटाका लागि छैटौं गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरेका थिए । खेलमा संकटाका सुवास गुरुङ म्यान अफ द म्याच घोषित भए । यो जितपछि १३ खेलबाट १८ अंक जोडेको संकटा लिगतालिकाको सातौं स्थानमा रहेर सिजनको समापन गरेको छ । उता ४ अंकका साथ पुछारमा रहेको सरस्वती भने यसअघि नै रेलिगेशनमा परिसकेको छ ।

Post Comments