News किकस्टार्टको जितमा सरुको दुई गोल
गोलनेपाल

काठमाडौं । चर्चित हिरो इण्डियन वुमन्स लिगमा किकस्टार्ट एफसीका लागि खेलिरहेकी नेपालकी चर्चित मिडफिल्डर सरु लिम्बुले टोलीका लागि डेब्यु गोल गरेकी छिन् । अहमदाबाद स्थित ट्रान्सस्टाडियामा भएको आफ्नो तेस्रो खेलमा किकस्टार्टले चर्चिल ब्रदर्श एफसीमाथि १०–० को फराकिलो जित निकाल्यो ।

किकस्टार्टको जितमा सरुको दुई गोल बाहेक काविया पकिरीसामीले चार गोल गरिन् । त्यस्तै एलिजावेथ काटुङवाले दुई गोल गर्दा लाइश्रम विविचा देवी र सोनिया मरकले समान एक–एक गोल गरे । स्मरण रहोस, किकस्टार्टको यो लगातार दोस्रो जित समेत हो । यसअघि किकस्टार्टले आफ्नो दोस्रो खेलमा ओडिसा एफसीलाई २–० ले हराएको थियो ।

समूह बी तर्फ कै अर्को खेलमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स एफसीले अनिता बस्नेतको टोली लर्डस एफएमाथि ५–२ को जित हात पार्यो । अनिताले खेलमा टोलीका लागि पहिलो रोजाई मै खेले तापनि ४६औं मिनटमा मैदान बाहिरिएकी थिईन् ।

समूह बी कै अर्को खेलमा अन्जिला तुम्बापो सुब्बाको टोली सेथु एफसीले सेल्टिक क्वीन एससीमाथि ७–१ को जित निकाल्यो । यद्यपि सो खेलमा अन्जिलाले भने खेलेकी थिईनन् । त्यस्तै अर्को खेलमा ओडिसाले इष्टर्न स्र्पोटिङ ४–० को जित निकाल्यो ।

जारी लिगमा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको शिर्ष चार टोलीहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments