News मनाङको नयाँ प्रशिक्षकमा बिष्णु गुरुङ
गोलनेपाल

काठमाडौं । छोटो समय मै प्रशिक्षकीय भूमिकामा आफूलाई अभ्यस्त बनाउन सफल युवा प्रशिक्षक बिष्णु गुरुङले मनाङ मस्र्याङ्दी क्लबको नयाँ प्रशिक्षकीय जिम्मेवारी पाएका छन् । लिगमा लगातारको खराब प्रदर्शनपछि क्लब छाडेका पूर्वप्रशिक्षक किरन श्रेष्ठको स्थानमा अब गुरुङले मनाङको जिम्मेवारी सम्हाल्ने छन् ।

गत सिजन ए डिभिजन लिगमा संकटाको मुख्य प्रशिक्षकमा रहेर काम गरेका बिष्ण्ुाले यस सिजन मनाङमा आउनु अघि नवप्रवेशी टोली एफसी खुमलटारको प्राविधिक निर्देशकका रुपमा समेत कार्यरत थिए । यद्यपि खुमलटारले गुरुङसँगको सम्झौता समाप्त गरेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी गराईसकेको छ ।

उता मनाङले पनि प्रशिक्षक गुरुङको नियुक्तिबारे आधिकारिक रुपमै घोषणा गरेको छ । मनाङका अध्यक्ष विजय घले र प्रशिक्षक गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गर्दै नियुक्तिको प्रक्रिया समेत पूरा गरेका छन् । क्लबका अनुसार प्रशिक्षक गुरुङसँग दुई वर्षका लागि सम्झौता भएको छ ।

भर्खरै मात्र जोर्डनमा सम्पन्न एएफसी यु–१७ महिला एसियन कप छनौटतर्फ प्रशिक्षक गुरुङले नेपाली यु–१७ महिला फुटबल टोलीको नेतृत्व सम्हालेका थिए । मनाङसँग जोडिन पाउँदा गुरुङले खुशी व्यक्त गरे । खेलाडीका रुपमा मनाङका लागि खेल्नु एउटा सपना भएको बताउँदै अब प्रशिक्षकका रुपमा क्लबको नेतृत्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको प्रतिक्रिया प्रशिक्षक गुरुङ्गले दिए ।

 

Post Comments