News केरलाको चौथो जितमा साबित्राको चार गोल
गोलनेपाल

काठमाडौं । हिरो इण्डियन वुमन्स लिगतर्फ डिफेन्डिङ च्याम्पियन गोकुलम केरलाले समूह ए तर्फको आफ्नो पाँचौं खेलमा चौथो जित निकाल्दा साबित्रा भण्डारीले ह्याट्रिकसहित चार गोल गरेकी छिन् ।

अहमदाबाद स्थित शाहीबाग पुलिस स्टेडियममा भएको खेलमा केरलाले कहानी फुटबल क्लबमाथि १४–० को फराकिलो जित निकाल्यो । खेलमा साबित्राको चार गोलसँगै लिगमा उनको गोल संख्या १५ पुगेको छ । साथै सर्वाधिक गोलकर्ताको सूचीमा पनि अझै अगाडी छिन् ।

त्यसबाहेक केरलाको जितमा प्लेयर अफ द म्याच समेत घोषित सन्ध्या रंगनाथनले पाँच गोल गरिन् । त्यस्तै इन्दुमति कथिरेशनले दुई गोल गरिन् भने शिल्की देवी, विवियन अडजेइ र आशाले थप एक–एक गोलको योगदान दिए ।

यो जितसँगै ५ खेलबाट १३ अंक जोडेको केरलाले क्वाटरफाइनल प्रवेशको सम्भावना थप बलियो बनाएको छ । शनिबार नै भएको समूह ए को अर्को खेलमा मुम्बई नाईट्स एफसीले रेखा पौडेलको टोली स्पोर्टस ओडिसामाथि २–१ को जित निकाल्यो ।

लिगमा सहभागिता कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments