News अन्जनको ह्याट्रिकसँगै शिर्ष स्थानमा उक्लियो चर्च ब्वाईज
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ चोटपछि सक्रिय फुटबलमा फर्किएका स्टार फरवार्ड अन्जन बिष्टले उत्कृष्ट लय देखाउँदै शनिबार चर्च ब्वाईजको जितमा ह्याट्रिक गरेका छन् । च्यासल स्टेडियममा सम्पन्न खेलमा चर्च ब्वाईजले एनआरटीमाथि ४–१ को प्रभावशाली जित निकाल्यो र लिगतालिकाको शिर्ष स्थान कब्जा गर्न पनि सफल भयो ।

खेलको ३९औं मिनटमा सुशिल शाहको गोलबाट चर्च ब्वाईजले खेलमा अग्रता बनाएको थियो । त्यस्तै अन्जनले खेलको ५१, ६० र ८४औं मिनटमा गोल गर्दै आफ्नो ह्याट्रिक र टोलीको जित पक्का गरेका थिए । अन्जनले तेस्रो गोल पेनाल्टीमार्फत गरेका थिए । उता एनआरटीका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा दिपेश आले मगरले एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो जितपछि १५ खेलबाट २७ अंक जोडेको चर्च ब्वाईज लिगतालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ । पराजित एनआरटी भने १७ अंकका साथ १०औं स्थानमै यथावत छ ।

शनिबार नै दशरथ रंगशालामा भएका अन्य दुई खेलहरुमा सातदोबाटो युथ क्लब र मनाङ मस्र्याङ मस्र्याङ्दी क्लब तथा थ्रीस्टार र फ्रेण्डस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Post Comments