News १४औं साफ खेल्ने आठौं टोली बन्यो लेबनान
गोलनेपाल

काठमाडौं । यस वर्ष भारतमा हुन गईरहेको प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपमा सहभागिता जनाउने लेबनान आठौं टोली बनेको छ । लेबनानको सहभागिताबारे दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पनि आधिकारिक रुपमा घोषणा गरेको छ ।

यसपटक साफमा दुई पाहुना टोलीलाई सहभागिता गराउने निर्णय यसअघि नै भईसकेको थियो । जसअन्तरगत साफमा कुवेतको सहभागिता पनि तय भईसकेका छ । अब लेबनानको सहभागिता पनि निश्चित भएसँगै साफ च्याम्पियनसिपमा सहभागिता जनाउने आठ टोलीहरुको टुंगो लागेको छ ।

आउँदो २१ जुनदेखि भारतको बैंगलोरमा हुन गईरहेको साफ च्याम्पियनसिपमा आयोजक, भारत, भुटान, नेपाल, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, कुवेत र लेबनानको सहभागित तय भएको छ । लेबनान साफ च्याम्पियनसिपमा सहभागिता जनाउने सबैभन्दा माथिल्लो वरियताको टोली समेत हो । लेबनान हाल फिफा वरियताको ९९औं स्थानमा छ । दक्षिण एसियाको अर्को टोली श्रीलंका हाल फिफाको प्रतिवन्धमा छ ।

स्मरण रहोस, साफ च्याम्पियनसिपको १३औं संस्करण भारतले जितेको थियो । माल्दिभ्समा भएको प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई हराउँदै उपाधिमाथि किर्तिमानी आठौंपटक कब्जा जमाउन सफल भएको थियो ।

Post Comments