News केरलाको पाँचौं जितमा साबित्राको चार गोल
गोलनेपाल

काठमाडौं । चर्चित हिरो इण्डियन वुमन्स लिगमा साविक विजेता गोकुलम केरलाका लागि खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले आफ्नो उत्कृष्ट गोलस्कोरिङलाई कायम राखेकी छिन् ।

लिगतर्फ समूह ए मा रहेको केरलाले मंगलबार आफ्नो छैठौं खेलमा पाँचौं जित निकाल्ने क्रममा माता रुकमणी एफसीमाथि ९–० को एकतर्फी जित निकाल्यो । अहमदाबाद स्थित ट्रान्सस्टाडियामा भएको खेलमा केरलाका लागि साबित्राले ह्याट्रिकसहित चार गोल गरिन् । यससँगै जारी लिगमा साबित्राको गोल संख्या १९ पुगेको छ र सर्वाधिक गोलकर्ताको सूचीमा अझै अग्रपंक्तिमा छिन् । साबित्रा प्लेयर अफ द म्याच समेत चुनिईन् ।

केरलाको जितमा थप दुई इन्दुमती कथिरेशनले गरिन् भने शिल्की देवी, कप्तान दाङमी ग्रेस र रन्जना चानुले थप एक–एक गोल गरे । यो नतिजापछि ६ खेलबाट १६ अंक जोडेको केरला शिर्ष स्थान मै यथावत छ । र क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना लगभग निश्चित गरेको छ । पराजित माता रुकमणी भने अंकविहीन रुपमा सातौं स्थानमा छ ।

समूह ए तर्फ कै अन्य खेलमा रेखा पौडेलको टोली स्पोर्टस ओडिसाले इष्ट बंगालमाथि २–१ को जित निकाल्यो । खेलमा रेखाले एक गोल गर्नुका साथै अन्तिमतिर ८५औं मिनटमा पहेंलो कार्ड खान पुगेकी थिईन् । यो नतिजापछि ६ खेलबाट १२ अंक जोडेको ओडिसा तेस्रो स्थानमा छ । पराजित इष्ट बंगाल १० अंकका साथ पाँचौं स्थानमा छ ।

समूह ए कै अर्को खेलमा मिसाका युनाइटेडले कहानी एफसीमाथि ६–० को जित निकाल्यो । यो जितपछि मिसाका ९ अंकका साथ समूह ए को छैठौं स्थानमा छ । पराजित कहानी भने अंकविहीन रुपमा पुछारमा छ । त्यस्तै होप्स एफसीले पनि मुम्बई नाईट्समाथि २–० को जित निकाल्यो । होप्स १२ अंकका साथ दोस्रो स्थानमा छ भने मुम्बई १० अंका साथ चौथो स्थानमा छ ।

लिगमा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष चार टोलीहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

 

Post Comments