
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुलाई दिनुपर्ने पारिश्रमिक, भत्ता र पुरस्कार रकम दिन नसकीरहेको अवस्थामा आफ्ना पदाधिकारीहरुको भने पारिश्रमिकमा बृद्धि गरेको छ । एन्फाको सोमबार बसेको आकस्मिक बैठकले पदाधिकारीहरुको सन्तुलन मिलाउन पारिश्रमिकमा २५ हजारका दरले बृद्धि गरिएको खबर नयाँपत्रिकाले प्रकाशित गरेको छ ।
एन्फाका तीन सह–महासचिव बद्री भट्टराई, अरुणमान जोशी र बसन्त अर्याललाई मासिक ५०–५० हजारका दरले पारिश्रमिक दिंदै आएको र सो पारिश्रमिकमा २५–२५ हजारका दरले बृद्धि गरिएको खबर नयाँपत्रिकाले छापेको छ ।
आकस्मिक बैठकमा भएका निर्णयहरुबारे एन्फाले विज्ञप्ती जारी गर्दै सार्वजनिक गरे तापनि पदाधिकारीहरुको पारिश्रमिक बृद्धिबारे भने खुलाएको छैन । त्यसबाहेक एन्फाले प्रवक्ता सुरेश साहलाई ६२ हजार र सह–कोषाध्यक्ष पुर्णमान चित्रकारलाई मासिक ३५ हजार पारिश्रमिक दिने निर्णय पनि गरेको छ ।
कोषाध्यक्ष रविन्द्र जोशीको मासिक ९५ हजार पारिश्रमिक रहेको छ भने हाल एन्फामा सर्वाधिक पारिश्रमिक लिनेमा महासचिव किरन राई रहेका छन् । नयाँपत्रिकाका अनुसार महासचिव राईले मासिक १ लाख २० हजार पारिश्रमिक पाउने गरेका छन् ।
खेलाडीहरु उधारो मै खेल्न बाध्य
त्यस्तै राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीहरुले समान १८–१८ हजार मासिक पारिश्रमिक पाउने भए तापनि खेलाडीहरुले पाँच महिनादेखि पारिश्रमिक नपाएको बताइएको छ । देशका लागि खेल्ने खेलाडीहरु उधारो मै खेल्न बाध्य रहेको अवस्थामा एन्फा पदाधिकारीहरुको पारिश्रमिक बृद्धिको निर्णयलाई धेरैले उचित मानेका छैनन् ।
त्यसबाहेक खेलाडीहरुले अभ्यास भत्ता र म्याच मनी पनि नपाएको बताइएको छ । नेपालले खेल्ने अन्तर्राष्ट्रिय फुटबल म्याचहरुमा खेलेवापत खेलाडीहरुले पाउनुपर्ने पारिश्रमिक पूर्ण रुपमा नपाउँदा धेरै खेलाडीहरु रुष्ट र समस्यामा पनि छन् ।
स्थानीयदेखि राष्ट्रियस्तर मै खेलाडीहरुको आर्थिक अवस्था दयनीय बनेपछि अहिले धेरैजसो खेलाडीहरु विदेश पलायन भईसकेका छन् । र, यो क्रम निरन्तर जारी रहने अनुमान छ । तर यसबारे सम्बन्धित पक्ष र निकायलाई न गम्भिरताका साथ सोच्ने फुर्सद देखिन्छ न त समाधानतर्फ अग्रसर नै रहेको देखिन्छ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न