News एसियन कप ड्रः भारत, अष्ट्रेलिया, उज्वेकिस्तान र सिरिया एउटै समूहमा
गोलनेपाल

काठमाडौं । सन् २०२४ को १२ जनवरीदेखि १० फेब्रुअरीसम्म कतारमा हुन गईरहेको प्रतिष्ठित एएफसी एसियन कपको २४औं संस्करणमा पाँचौंपटक सहभागिता जनाउन गईरहेको एक मात्र दक्षिण एसियाली राष्ट्र भारत समूह बी मा परेको छ । एएफसीले बिहीबार निकालेको फाइनल ड्र मा भारत पूर्व विजेता अष्ट्रेलिया, उज्वेकिस्तान र सिरियासँगै समूह बी मा परेको हो ।

छनौट प्रतियोगिता अन्तरगत नेपाल कै समूहमा रहेर एसियन कपमा छनौट भएका दुई टोली इण्डोनेसिया र जोर्डन भने क्रमशः समूह डी र ई मा परेका छन् । समूह डी मा रहेको इण्डोनेसियाले दुई पूर्व विजेता जापान र इराकसहित भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ई मा रहेको जोर्डनले पूर्व विजेता दक्षिण कोरियासँगै मलेसिया र बहराईनसँग भिड्नेछ ।

डिफेन्डिङ च्याम्पियन तथा आयोजक कतार भने समूह ए मा छ । जहाँ उसले चीनसहित ताजिकिस्तान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ । स्मरण रहोस, लेबनानले अर्को महिना भारतमा हुन गईरहेको साफ च्याम्पियनसिपमा पनि सहभागिता जनाउँदैछ ।

त्यसैगरी समूह सी मा तीनपल्टको विजेता इरान, हङकङ, प्यालेस्टाईन र युएई रहेका छन् । समूह एफ मा तीनपल्टको विजेता साउदी अरेबियासहित थाइल्याण्ड, किर्गिस्तान र ओमान रहेका छन् ।

प्रत्येक समूहको शिर्ष दुई टोली तथा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने ४ टोलीसहित कुल १६ टोलीहरु नकआउट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

स्मरण रहोस, यो प्रतियोगिता खासगरी चीनमा यही जुन महिनादेखि शुरु हुने तय भईसकेको थियो । यद्यपि कोरोना महामारीका कारण अन्तिम समयमा आएर चीनबाट प्रतियोगिता आयोजजना स्थल कतार सारिएको थियो । कतारले यसअघि अन्तिमपटक सन् २०११ मा एसियन कपको आयोजना गरेको थियो । समग्रमा कतारले तेस्रोपटक एसियन कपको आयोजना अधिकार पाएको हो । कतारले पहिलोपटक सन् १९८८ को एसियन कप आयोजना गरेको थियो ।

 

Post Comments