News समूह चरणको अन्तिम खेलमा पनि साबित्राको सात गोल
गोलनेपाल

काठमाडौं । चर्चित हिरो इण्डियन वुमन्स लिगतर्फ साविक विजेता गोकुलम केरलाका लागि खेलिरहेकी नेपालकी चर्चित फरवार्ड साबित्रा भण्डारीले समूह ए तर्फ लिग चरणको अन्तिम खेलमा पनि दोहोरो ह्याट्रिकसहित सात गोल गरेकी छिन् । र जारी लिगमा आफ्नो गोलसंख्या २६ पुर्याएकी छिन् । साथै सर्वाधिक गोलकर्ताको सूचीमा पनि शिर्ष स्थान मै छिन् ।

शुक्रबार शाहीबाग पुलिस स्टेडियममा भएको खेलमा केरलाले मुम्बई नाईटस एफसीमाथि ११–१ को फराकिलो अन्तरको जित दर्ता गर्यो । केरलाका लागि साबित्राको सात गोल बाहेक सन्ध्या रंगनाथनले दुई गोल गरिन् भने इन्दुमति कथिरेशन र असेम रोजा देवीले थप एक–एक गोल गरेका थिए । उता पराजित मुम्बई नाईटस्का लागि भूमिका मानेले एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् ।

खेलमा साबित्रा लगातार दोस्रोपटक हिरो अफ द म्याच चुनिईन् । यो नतिजापछि ७ खेलबाट १९ अंक जोडेको केरला समूह ए को शिर्ष स्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यस्तै शुक्रबार नै रेखा पौडेलको टोली स्पोर्टस ओडिसाले मिसाका युनाइटेडसँग गोलरहित बराबरी खेल्यो । यो नतिजापछि १३ अंक जोडेको ओडिसा पनि दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । मिसाका भने १० अंकका साथ पाँचौं स्थानमा रहेर समूह चरणबाटै बाहिरियो ।

त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा इष्ट बंगालले होप्स एफसीलाई १–० ले हरायो । यो जितपछि १३ अंक जोडेको इष्ट बंगाल तेस्रो स्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । उता हारका बावजुद १२ अंक जोडेको होप्स पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

त्यस्तै समूह ए कै अर्को खेलमा कहानी एफसी र माता रुकमणी एफसीले गोलरहित बराबरी खेले । यो नतिजा दुवै टोलीका लागि औपचारिकता मात्र बन्यो । १–१ अंक जोडेका माता रुकमणी र कहानी क्रमशः सातौं र आठौं स्थानमा रहेर लिगको समापन गर्न बाध्य बने । त्यसैगरी केरलासँग पराजित मुम्बई नाईटसले भने १० अंकका साथ छैठौं स्थानमा रहेर लिगको समापन गर्यो ।

शुक्रबारको खेलहरु सम्पन्न भएसँगै समूह ए का सबै खेलहरु पनि सम्पन्न भएका छन् । साथै समूह ए बाट केरला, स्र्पोटस ओडिसा, इष्ट बंगाल र होप्स एफसी क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

Post Comments