News अन्जिलाको सेथुसँगै सरु र रेनुकाको किकस्टार्ट क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं । हिरो इण्डियन वुमन्स लिगमा दुई फरक क्लबहरुबाट खेलिरहेका नेपालका तीन अन्तर्राष्ट्रिय खेलाडीहरु अन्जिला तूम्बापो सुब्बाको टोली सेथु एफसी तथा सरु लिम्बु र रेनुका नगरकोटीको टोली किकस्टार्ट एफसी समूह बी बाट क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह बी तर्फका अन्तिम चार खेलहरु शनिबार सम्पन्न भए । जसअन्तरगत किकस्टार्टले लिग चरणको अन्तिम खेलमा पाँचौं जित दर्ता गर्ने क्रममा सेन्ट्रल रिजर्भ पुलिस फोर्स क्लबमाथि ९–० को एकतर्फी जित निकाल्यो । खेलमा किकस्टार्टका लागि सरु र रेनुका दुवैले पहिलो रोजाईमा रहेर खेलेका थिए । सरु लिम्बुले दुई गोल पनि गरिन । र जारी लिगमा सरुको गोलसंख्या ६ पुगेको छ ।

शनिबारको जितपछि यसअघि नै क्वाटरफाइनलमा स्थान बनाईसकेको किकस्टार्ट ७ खेलबाट १६ अंक जोड्दै समूह बी को दोस्रो स्थानमा रह्यो । त्यस्तै ओडिसा एफसीसँग गोलरहित बराबरी खेलेको सेथु १७ अंकका साथ शिर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । ओडिसा पनि १६ अंकका साथ तेस्रो स्थानमा रहेर क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल बन्यो ।

त्यसैगरी शनिबार नै समूह बी तर्फको अर्को खेलमा अनिता बस्नेतको टोली लर्डस एफएमाथि ३–२ को जित निकालेको इष्टर्न स्र्पोटिङ युनियनले १५ अंक जोड्दै चौथो स्थानमा रहेर क्वाटरफाइनल यात्रा तय गर्यो । लर्डस एफए भने ३ अंकका साथ सातौं स्थानमा रहेर समूह चरणबाटै बाहिरियो ।

समूह बी बाट ७ अंक जोडेको सेन्ट्रल रिजर्भ पुलिस फोर्स क्लब, ४ अंक जोडेको सेल्टिक क्वीन्स एफसी र ३ अंक जोडेको चर्चिल ब्रदर्श एफसी क्रमशः पाँचौं, छैठौं र आठौं स्थानमा रहेर लर्डस एफएसँगै समूह चरणबाट बाहिरियो ।

Post Comments