News झापा: न्यू स्टार गोल्डकपमा आज इलाम र दार्जीलिङ भिड्दै
रमेश समदर्शी

झापाको बिर्तामोडमा जारी तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आज (सोमबार) पाहुना टोली युकेएफसी दार्जीलिङ र इलामको रेडहर्ष एफसीले प्रतिस्पर्धा गर्दैछन् ।

बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा हिजो भएको दोस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली भुटानको डिएसएलाई १-० गोलअन्तरले पराजित गर्दै सुनसरीको बराहक्षेत्र ११ सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै, उद्घाटन खेलमा आयोजक न्यू स्टार क्लबले ताप्लेजुङ जिल्ला फुटबल क्लबलाई २-१ गोलले पराजित गरेर अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।

गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने अध्यक्ष लिम्बूले जानकारी दिए ।

यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भोलि जनसहयोग युथ क्लब मोरङले सप्तरीको नव बुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।

Post Comments