News मनाङ र संकटाको टक्कर, मच्छिन्द्रलाई फ्रेण्डसको चुनौति, जावलाखेललाई शिर्ष स्थानमा फर्किने अवसर
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आजदेखि १९औं चरणका शुरुवाती तीन खेलहरु हुँदैछन् । च्यासल स्टेडियममा ३ बजेदेखि शुरु हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र संघर्षरत टोली संकटा क्लब भिड्दै छन् । १८ खेलबाट ५ जितका साथ २२ अंक जोडेर आठौं स्थानमा रहेको मनाङलाई आज लिगतालिकामा स्थान सुधार गर्ने अवसर हुनेछ । उता मनाङ भन्दा एक अंक कम भए पनि गोलभिन्नताका कारण रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १२औं स्थानमा रहेको संकटाका लागि पनि आजको खेल महत्वपूर्ण छ ।

त्यस्तै ३ बजेदेखि नै दशरथ रंगशालामा हुने खेलमा मँिच्छन्द्र फुटबल क्लबले फ्रेण्डस क्लबको सामना गर्दैछ । हाल राम्रो लयमा रहेको मच्छिन्द्र ३० अंकका साथ तेस्रो स्थानमा छ र आज आफु अुनुकल नतिजा निकाल्न सके लिगतालिकामा शिर्ष स्थानमा पकड बनाउने सम्भावना पनि छ । उता २० अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा रहेको फ्रेण्डसलाई सो क्षेत्रबाट बाहिर निस्किन आज निश्चित जितको खाँचो छ ।

त्यसैगरी दिनको अन्तिम खेलमा ६ बजेदेखि दशरथ रंगशाला मै न्युरोडटिम र जावलाखेल युथ क्लब भिड्दै छन् । ३१ अंकका साथ लिगतालिकाको दोस्रो स्थानमा रहेको जावलाखेलले आज जित हात पार्न सके शिर्ष स्थानमा कब्जा जमाउन सफल हुनेछ । हाल जावलाखेल ३३ अंकका साथ शिर्ष स्थानमा रहेको लिगलिडर चर्च ब्वाईज भन्दा २ अंकले मात्र पछाडी छ । उता पछिल्ला खेलहरुमा सुधारिएको प्रदर्शन गरिरहेको एनआरटी भने २२ अंकका साथ नवौं स्थानमा छ । र, जावलाखेललाई कडा चुनौति दिन पनि तयार छ ।

Post Comments