News कर्णेल उजीर सिंह पाल्पा गोल्डकप हुने
सुरज राना मगर

तानसेन । पाल्पा जिल्ला फुटबल संघको आयोजनामा यही जेठ १२ गतेदेखि कर्णेल उजीर सिंह पाल्पा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । पर्यटकीय नगर तानसेन स्थित टुंडीखेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा रहेको खेल संयोजक करन चित्रकारले जानकारी दिए । प्रतियोगितामा पाल्पा सहित कास्की, नवलपरासी, रुपन्देहीका टिमहरुको सहभागिता रहने अनुमान गरिएको पनि संयोजक चित्रकारले बताए ।

तानसेन नगरपालिका, पाल्पा उद्योग वाणिज्य संघ, तानसेन र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

ऐतिहासिक पहिचान बोकेको तानसेन नगर र समग्र पाल्पा जिल्ला नै फुटबलको उर्बर भूमिका रुपमा रहेको बताउँदै पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले यो गोल्डकपको आयोजनाले पाल्पाको खेलकुद विकास, पर्यटन प्रवद्र्धन र विस्तारमा पनि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष राणाले प्रतियोगितालाई भव्यता र सफलताका साथ सम्पन्न गर्न हरतरहले प्रयास जारी राखेको पनि बताए ।

पाल्पा जिल्ला खेलकुद विकास समिति र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको समन्वयमा हुन गईरहेको प्रतियोगिताले स्थानीय स्तर मै खेलाडीहरुको पहिचान गरी उनीहरुको क्षमता अभिबृद्धि गर्न पनि सहयोग पुग्ने अपेक्षा लिएको पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताए ।

Post Comments