News आई लिग उपाधिका लागि साबित्राको केरला र सरुको किकस्टार्ट भिड्ने
गोलनेपाल

काठमाडौं । चर्चित हिरो इण्डियन वुमन्स लिगको फाइनलमा नेपालका तीन चेलीहरु साबित्रा भण्डारी, सरु लिम्बु र रेनुका नगरकोटी एक आपसमा भिड्ने भएका छन् । शुक्रबार भएको लिगको दुई सेमिफाइनलतर्फ आ–आफ्नो खेलमा जित हात पार्दै साबित्राको गोकुलम केरला एफसी र सरु तथा रेनुकाको टोली किकस्टार्ट एफसी उपाधिका लागि फाइनलमा भिड्ने पक्का भएको हो ।

अहमदाबाद स्थित ट्रान्सस्टाडियामा भएको दोस्रो सेमिफाइनलतर्फ डिफेन्डिङ च्याम्पियन समेत रहेको केरलाले इष्टर्न स्र्पोटिङ युनियनलाई ५–१ को फराकिलो अन्तरले हरायो । केरलाको जितमा साबित्रा भण्डारी र इन्दुमती कथिरेशनले २–२ गोल गरे । थप एक गोल भने विवियन अडजेइले गरेकी थिईन् । उता इष्टर्नका लागि एक मात्र गोल कमला देवीले गरेकी थिईन् ।

केरलाले गरेको पाँचै गोलमा साबित्राको योगदान रह्यो । साबित्राले दुई गोल गर्नु बाहेक अन्य दुई गोलका लागि पास मिलाइदिएकी थिईन् । त्यस्तै इन्दुमतीले गरेको व्यक्तिगत दोस्रो गोल पेनाल्टीबाट सम्भव भएको थियो । साबित्रालाई विपक्षी खेलाडीले बक्सभित्र फल गरेपछि केरलाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई इन्दुमतीले सहजै गोलमा परिणत गरेकी थिईन् ।

शुक्रबारको दुई गोलसँगै जारी लिगमा सात्रिको गोल संख्या २८ पुगेको छ । र सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छिन् भने यो पुरस्कार उनकै पोल्टामा जाने निश्चित पनि छ ।

त्यस्तै शुक्रबार नै शाहीबाग पुलिस स्टेडियममा भएको पहिलो सेमिफाइनलतर्फ सरु र रेनुकाको टोली किकस्टार्टले अन्जिला तूम्बापो सुब्बाको टोली सेथु एफसीलाई २–० ले निराश तुल्यायो । किकस्टार्टको जितमा किको एलिजावेथ कटुङ्वा र सरु लिम्बुले गोल गरिन् । सरुले गरेको दोस्रो गोल दर्शनीय पनि थियो । उनले करिब ३० यार्ड टाढाबाट गरेको कडा प्रहार अन्जिलालाई कुनै अवसर नदिई सुन्दर गोलमा परिणत भएको थियो ।

फाइनल खेल २१ मई आईतबारका दिन हुनेछ । जहाँ साविक विजेता गोकुलम केरला र किकस्टार्ट एफसी उपाधिका लागि भिड्ने छन् । जुन खेल नेपाली चेलीहरुबीचको रोमाञ्चक फाइनल भिडन्त पनि हुनेछ ।

 

 

Post Comments