News साबित्राको टोली केरलाको आई लिग उपाधिमाथि ह्याट्रिक
गोलनेपाल

काठमाडौं । शानदार जितका साथ साबित्रा भण्डारीको टोली तथा डिफेन्डिङ च्याम्पियन गोकुलम केरलाले चर्चित हिरो इण्डियन वुमन्स लिगको उपाधि रक्षा गर्न सफल भएको छ । आइतबार सम्पन्न फाइनल भिडन्तमा केरलाले सरु लिम्बु र रेनुका नगरकोटीको टोली किकस्टार्ट एफसीमाथि ५–० को एकतर्फी जित निकाल्दै लगातार तेस्रोपटक उपाधि जित्दै लिग उपाधिमाथि ह्याट्रिक जमाउन सफल भएको हो ।

अहमदाबाद स्थित ट्रान्सस्टाडियामा भएको उपाधि भिडन्तमा केरलाका लागि सन्ध्या रंगनाथनले दुई गोल गरिन् भने साबित्रा भण्डारी, इन्दुमती कथिरेशन र असेम रोजा देवीले एक–एक गोल गरिन् । इन्दुमतीले भने पेनाल्टीबाट गोल गरेकी थिईन् । फाइनल खेलमा पनि साबित्रा समग्रमा चौथोपटक हिरो म्यान अफ द म्याच बनिन् ।

गोकुलम केरलाकी इन्दुमति कथिरेसन प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिईन् । लिग अवधिभर कुल २९ गोल गरेकी साबित्राले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारिन् । त्यस्तै किकस्टार्टकी माइबम देवी उत्कृष्ट गोलरक्षक बनिन् । किकस्टार्ट कै अस्तम ओरावनले इमर्जिङ प्लेयरको पुरस्कार जितिन् ।

Post Comments