News दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबारदेखि शुरु २०औं चरणको खेलमा साविक विजेता मच्छिन्द्रले महत्वपूर्ण जित निकाल्दै लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

आइतबार च्यासल स्टेडियममा भएको खेलमा मच्छिन्द्रले एनआरटीमाथि २–० को जित निकाल्यो । खेलको ३१औं मिनटमा आफिज ओलावाले र अन्तिमतिर इन्जुरी समयमा सौरभ लिम्बुले गरेको गोल नै मच्छिन्द्रलाई तीन अंक दिलाउन पर्याप्त बन्यो ।

यो जितपछि २० खेलबाट ३४ अंक जोडेको मच्छिन्द्र लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । र लिगलिडर चर्च ब्वाईजभन्दा दुई अंकले मात्र पछाडी छ । यद्यपि चर्च ब्वाईजले एक खेल कम खेलेको छ । उता पराजित एनआरटी भने २३ अंकका साथ १०औं स्थानमा छ ।

मनाङ र संकटा रोकिए

त्यस्तै आइतबार नै भएका अन्य दुई खेलहरुमा मनाङ मस्र्याङ्दी क्लबले एपिएफसँग र संकटा क्लबले जावलाखेल युथ क्लबसँग समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा मनाङले दश खेलाडीमा खुम्चिएको एपिएफ विरुद्ध दुईपटक लिएको अग्रता जोगाउन सकेन ।

खेलको १३औं मिनटमा टिमोथी कुडुको पेनाल्टी गोलबाट मनाङले अग्रता बनाएको थियो । तर लगतै १९औं मिनटमा नविन लामाले एपिएफका लागि बराबरी गोल फर्काएका थिए । त्यस्तै २५औं मिनटमा सुमित श्रेष्ठले दोस्रोपटक मनाङलाई खेलमा अग्रता दिलाए ।

मनाङले पहिलो हाफसम्म २–१ को त्यो अग्रता कायम पनि राख्यो । यद्यपि दोस्रो हाफको ६३औं मिनटमा अर्मान्ड बिडुमले एपिएफका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । खेलमा एपिएफका विश्वास उदासले रातो कार्ड खाँदै मैदान छाड्दा विभागीय टोली शुरुवातबाटै १० खेलाडीमा खुम्चिए पनि मनाङले जितको नतिजालाई भने आत्मसात गर्न सकेन ।

जारी लिगमा नवौं बराबरी खेलेको मनाङ २४ अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ । उता एपिएफ भने २३ अंकका साथ नवौं स्थानमा छ ।

त्यस्तै आइतबार नै दशरथ रंगशालामा भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबले २–२ गोलको बराबरी खेले । शिर्षताको होडमा रहेको जावलाखेल र रेलिगेशन नजिक संघर्षरत टोली संकटालाई यो बराबरी नतिजाले भने धक्का लागेको छ ।

खेलको ४२औं मिनटमा आयुष घलान र ७३औं मिनटमा चन्दन दासको गोलबाट संकटाले दुई गोलको स्पष्ट अग्रता बनाएर पनि त्यसलाई जोगाउन सकेन । जावलाखेलका लागि ७७औं मिनटमा एन्काटो मासोबी र ८६औं मिनटमा समिरराज थोकरले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि २० खेलबाट ३३ अंक जोडेको जावलाखेल तेस्रो स्थानमा झरेको छ । उता संकटा भने २३ अंकका साथ ११औं स्थानमा छ । र रेलिगेशन क्षेत्रको टोली फ्रेण्डस भन्दा दुई अंकले मात्र अगाडी छ ।

 

Post Comments