News अर्का बृटिश खेलाडी ओटिसले पनि पाकिस्तानका लागि खेल्ने
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफाबाट प्रतिवन्ध फुकुवा भए लगतै अन्तर्राष्ट्रिय फुटबलमा आक्रमक रुपमा सक्रिय भई लागेको पाकिस्तानले अर्को महिना मौरिससमा हुने चारदेशीय अन्तर्राष्ट्रिय कप र प्रतिष्ठित १४औं साफ चयाम्पियनसिपको तयारीलाई पनि तिव्र बनाएको छ ।

आउँदै गरेका यी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई ध्यानमा राख्दै पाकिस्तानले युरोपमा खेलिरहेका पाकिस्तानी मूलका खेलाडीहरुलाई राष्ट्रिय टोलीमा सामेल पर्न निरन्तर प्रयास गरिरहेको छ । र त्यसमा सफल पनि भईरहेको छ ।

केही दिन अघि मात्र इङल्याण्डको युथ टोलीबाट खेलिसकेका इसाह सुलिमानलाई राष्ट्रिय टोलीमा सामेल गरेको पाकिस्तानले मंगलबार फेरि अर्का बेलायती खेलाडी ओटिस खानलाई राष्ट्रिय टोलीमा सामेल गर्न सफल भएको छ । २७ वर्षिय आक्रमक मिडफिल्डर ओटिस म्यानचेष्टर युनाइटेडको एकेडेमी उत्पादन समेत हुन् ।

व्यवसायीक फुटबलमा शेफिल्ड युनाइटेड, बान्र्सले, मान्सफिल्ड टाउन, ट्रानमेरे रोवर्स, वालसाल र लेटन ओरियन्ट जस्ता चर्चित क्लबहरुबाट खेलिसकेका ओटिसको आगमनले पाकिस्तानी स्क्वाड थप बलियो बन्ने अनुमान गरिएको छ ।

ओटिसले ट्रानमेरेका लागि खेल्दै सन् २०२०–२१ को सिजनमा प्रतिष्ठित इएफएल ट्रफीको फाइनलमा समेत पुगेका थिए । हाल ओटिस इङल्याण्डको चौथो डिभिजनको टोली ग्रिम्सबाइ टाउन एफसीमा आवद्ध छन् । स्मरण रहोस, पाकिस्तानी टोलीमा अहिले अधिकांश युरोपियन मूलका खेलाडीहरु सामेल भईसकेका छन् र यो क्रम जारी पनि छ ।

यस अर्थमा आउँदो साफ च्याम्पियनसिपमा नेपाल, भारत र कुवेत कै समूह ए मा रहेको पाकिस्तानले पनि विपक्षी टोलीहरुलाई बलियो चुनौति पेश गर्ने निश्चित छ । १४औं साफ च्याम्पियनसिपमा आउँदो जुन २१ तारीखदेखि भारतको बैंगलोरमा शुरु हुँदैछ । त्यसअघि पाकिस्तानले मौरिससमा १० देखि १८ जुनसम्म हुने चारदेशिय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने कार्यक्रम पनि छ ।

Post Comments