News लिगमा २१औं चरणको खेलहरु आजदेखि
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ बुधबारदेखि २१औं चरणको खेलहरु हुँदैछन् । दशरथ रंगशालामा २ बजेदेखि शुरु हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एनआरटी भिड्दै छन् । २९ अंकका साथ पाँचौं स्थानमा रहेको आर्मी आज सिजनको आठौं जित निकाल्दै शिर्ष तीनको दावेदारी पेश गर्ने योजनामा हुनेछ । उता २३ अंकका साथ ११औं स्थानमा रहेको एनआरटी भने आर्मीलाई विरुद्ध निश्चित अंक हासिल गर्दै लिगतालिकामा स्थान सुधार गर्ने योजनामा हुनेछ ।

त्यसैगरी च्यासल स्टेडियममा ३ बजेदेखि शुरु हुने खेलमा संकटा क्लब र एपिएफ फुटबल क्लब भिड्ने छन् । २० खेलबाट २३ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि १२औं स्थानमा संघर्ष गरिरहेको संकटा आज निश्चित जित र तीन अंकका लागि खेल्नेछ । त्यस्तै समान २३ अंकका साथ लिगतालिकाको दशौं स्थानमा रहेको एपिएफ विरुद्ध संकटालाई त्यो जित हात पार्न र अंक बटुल्न त्यति सहज नहुने देखिँन्छ ।

त्यस्तै दशरथ रंगशालामा बेलुका ६ बजेदेखि शुरु हुने खेलमा शिर्ष तीनभित्रका दुई टोली मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब आमने सामने हुँदैछन् । लिगतालिकामा ३४ अंकका साथ दोस्रो स्थानमा रहेको मच्छिन्द्रले आज आफू अनुकुल नतिजा निकाल्न सके शिर्ष स्थानमा उक्लने सम्भावना पनि छ । उता मच्छिन्द्र भन्दा एक अंक कम ३३ अंकका साथ तेस्रो स्थानमा रहेको जावलाखेल पनि शिर्षताको होडमा आफूलाई यथावत राख्न चाहन्छ ।

हाल ३७ अंकका साथ शिर्ष स्थानमा रहेको चर्च ब्वाईजलाई मच्छिन्द्र र जावलाखेलले कडा चुनौति दिईरहेका छन् । त्यसैले पनि आज हुने मच्छिन्द्र र जावलाखेल बीचको भिडन्त थप रोमाञ्चक र कडा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

Post Comments